नागरिक पोष्ट News


वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

637

विराटनगर – कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ। यही कात्तिक १ र २ गते परेको अविरल वर्षाबाट नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो ।

उनले सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ रहेको चतरामूल नहरको २० शाखामा १४ वटा स्थानमा  फुटेको छ। अब आउने गहुँको मौसम र तत्कालै सुरु हुने छठ पर्वका निम्ति पनि नहर सञ्चालन गर्न सकिने अवस्था नरहेको र नहरलाई तत्काल सञ्चालन गर्न रु पाँच करोड भन्दा बढी रकम आवश्यक पर्ने प्रमुख यादवले बताउनुभयो ।

अविरल वर्षाले मूल नहरकै चार ठाउँ सुनसरीको झुम्कादेखि पश्चिम ६५, ६३, सुनसरीको खनारस्थित ११४ र बडहरास्थित १२८ आरडी नराम्रो गरी भत्किएको छ । यो पूर्णरुपमा निर्माण गर्न रु १० करोड भन्दा बढी लाग्ने छ । त्यस्तै तत्काल पानी सञ्चालन गर्ने अवस्थाको बनाउन रु पाँच करोडको लागत लाग्ने प्रारम्भिक अनुमान रहेको इञ्जिनियर रामकुमार चौधरीले जानकारी दिनुभयो ।

नहरको अवस्थाका बारेमा आयोजना प्रमुख यादवले भर्खरै बाढी प्रभावित क्षेत्र अवलोकन एवं निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत जानकारी गराइसकिएको छ । 

किसानलाई राहत एवं कृषि कार्य सहज बनाउन नहर मर्मतसम्भारको विकल्प नरहेको आयोजना प्रमुख यादवको भनाइ छ । सन् १९७० मा निर्माण सम्पन्न भएको सो नहरका सबै संरचना विस्तारै जीर्ण हुँदै गएकोले यो संरचनालाई जोगाउन र किसानलाई खेती गर्नबाट वञ्चित हुन नदिन वृहत योजनाको आवश्यकता रहेको आयोजनाले जनाएको छ । 

 

Must View