नागरिक पोष्ट News


एमाले तारकेश्वर ८ मा मोहन खत्री विजयी 

1.1K

काठमाण्डौँ - नेकपा एमालेको हिजो सम्पन्न राष्ट्रिय वडा अधिवेशन अन्तर्गत तारकेश्वर नगरपालिका वडा नम्बर ८मा मोहन खत्रीको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ । तारकेश्वरको एक पार्टी प्यालेसमा भएको बन्द सत्रले सर्व सम्मतिबाट खत्रीको नेतृत्वमा नयाँ कमिटी निर्वाचित गरेको हो । 

तत्कालीन स्थानीय निकायको निर्वाचनबाट अत्याधिक मतसहित वडा सदस्यमा निर्वाचित खत्रीको नेतृत्वमा गठन भएको कमिटीमा भिम बहादुर तामाङ, कमला सिलवाल, दिपा अधिकारी, कृष्ण बहादुर पन्त, शंकर बहादुर बुढाथोकी, जयराम खत्री, राजु पाण्डे, विमल बखती, सुरज थापा, लक्ष्मण महर्जन, वीर बहादुर घले, गंगा उप्रेती, राजकुमार भुजेल लगायत ३१ जना रहेका छन् ।

शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर एकसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन गर्ने क्रममा उनले देशलाई अस्थिरतामा धकेल्ने र अग्रगमनमा व्यवधान खडा गर्ने काम भइरहेको टिप्पणी गरेका थिए । जनतामा रहेको सार्वर्भामसत्ता खोसिने प्रयास प्रतिगामी गतिविधि भएको उनको टिप्पणी थियो । जनताले पत्याएको असली शक्ति एमाले भएको दावी गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने बताए ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढीपहिरोका कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको बताए । वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । 

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि ५ हजार ७४३ वडा रहेका छन् । केही स्थानमा बाढीपहिरोका कारण अधिवेशन रोकिएको र उक्त स्थानहरुमा एक हप्ताभित्र अधिवेशन गर्ने एमालेले बताएको छ । एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप शनिबार पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर ९ कात्तिकमा पालिका अधिवेशन गर्नेछ । आगामी १० देखि १३ मंसिरमा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।  

Must View