नागरिक पोष्ट News


जनसंख्याको १०६ प्रतिशत पुग्यो ब्रोडब्याण्ड इन्टरनेटको पहुँच

672

काठमाडौं, ४ कात्तिक । नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच कुल जनसंख्याको १०६ प्रतिशत पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको चालू आर्थिक वर्षको पहिलो महिना (साउन)सम्मको तथ्यांक अनुसार फिस्क्ड ब्रोडब्याण्ड (तारसहित), फिक्स्ड ब्रोडब्याण्ड (ताररहित) र मोबाइल ब्रोडब्याण्ड गरी जनसंख्याको उक्त प्रतिशतमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुगेको हो ।

प्राधिकरणले केन्द्रीय तथ्यांक विभागको जनसंख्या प्रक्षेपण (२०११–३०) ३ करोड २ लाख २९ हजार ९६६ लाई आधार मानेर सो तथ्यांक प्रकाशित गरेको हो, जसअनुसार कुल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड २१ लाख ९६ हजार १८७ रहेको छ ।

प्राधिकरणका अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता सबैभन्दा धेरै अर्थात् ७८.८७ प्रतिशत छन् । यस्तै फिक्स्ड ब्रोडब्याण्ड (तारसहित) २६.९३ र फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट (ताररहित)को हिस्सा ०.७० रहेको छ ।

सोही अवधिमा फोनको पहुँच भने जनसंख्याको १३३.२५ प्रतिशत पुगेको छ । यसमा मोबाइल फोनको पहुँच मात्रै १३०.५६ प्रतिशत रहेको छ भने फिस्क्ड टेलिफोनको हिस्सा २.६८ रहेको छ । जिएसएमतर्फ नेपाल टेलिकमका ग्राहक २ करोड ३ लाख ७४ हजार ८३३ रहेका छन् भने दोस्रोमा रहेको एनसेलका १ करोड ६४ लाख ३१ हजार २८९ र तेस्रोमा स्मार्ट टेलिकमका २३ लाख ४२ हजार ५११ रहेका छन् ।

Must View