नागरिक पोष्ट News


ग्याँस सिलिण्डर बोकेर काठमाडौं आउँदै गरेको ट्रक थानकोटमा दुर्घटना

707

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ । ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो । आज राती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।

बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।

आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए । ‘सुरुमा पैदल हिंडेर पनि वारिपारी गर्न सकिने अवस्था थिएन । अहिले भने सडक खुलेपछि अवस्था सामान्य छ,’ उनले भने । रातिको बेला दुर्घटना भएकाले गाडीहरुको चाप नभएको उनले बताए । केटिएमदैनिकबाट

Must View