सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेको दावी
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनु भएको हो ।
चेक एण्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्ने उहाँको भनाई छ । उहाँले संसार भर नै लेखा समिति प्रतिपक्षीले सम्हाले अभ्यास रहेको जिकिर गर्नुभयो । बैठकमा समिति सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताउनु भयो । शाहले २०५६ सालदेखि नै आफू पनि लेखा समितिमा बस्दै आएको भन्दै २० वर्षको अवधिमा कसैले पनि राजीनामा गएर गएको आफूलाई थाहा नभएको तर्क गर्नुभयो । बैठकमा महालेखापरीक्षकको ५८ औ वार्षिक प्रतिवेदन, २०७८ बारे छलफल भएको थियो । महालेखापरीक्षक टंकमणी शर्माले ५ हजार चार सय ६१ वटा निकायको लेखापरिक्षण सम्पन्न भएको जानकारी दिनुभयो । शर्माले सरकारी निकायहरुको बेरुजु १ खर्व ४ अर्व रहेको बताउनु भयो । उहाँले १ लाख चार हजार ७ सय २६ वटा दफामा बेरुजु देखिएको जानकारी दिनुभयो । समितिले सभापति भरत शाहले लेखापरिक्षणमा देखिएका समस्याहरुलाई हटाउन भूमिका खेल्ने बताउनुभयो ।