दशैं सुरक्षा योजना : उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा विशेष निगरानी
काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ। १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ।
महानगरी प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चाडपर्व विशेष सुरक्षा योजना लागू भइसकेको जनाएको छ।
मेट्रोका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले विशेष सुरक्षा योजनाअन्तर्गत मातहत निकाय परिचालित भइसकेको बताए। उनका अनुसार परिसरहरुले मेट्रोको निर्देशनअनुसार सुरक्षा योजना बनाएर लागू गरेका हुन्।
उपत्यकामा चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर झण्डै ८ हजार सुरक्षाकर्मी परिचालनगरिएको डीआईजी सुवेदीले जानकारी दिए।
जुवातास र मापसे प्राथमिकतामा
यसपालि दशैंतिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवक रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ। साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाएको छ। यसमा ठूलो जनशक्ति खटाइएको छ।
चाडपर्वको बेला आर्थिक कारोबार धेरै हुन्छ। बैंक वित्तीय संस्था, ठूल्ठूलो मलहरु, सुनचाँदी पसल, दशैंतिहार लक्षित विभिन्न लक्षित सवारीहरु, फर्निचर लगायत अन्य उपभोग्य सामग्रीहरु पनि छुटका अफरहरु प्रशस्त मात्रामा हुन्छ। आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना संकलन सादा पोशाकमा प्रशस्त प्रहरी खटाउने र त्यस्ता भीडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको सुवेदी बताउँछन्। उनका अनुसार समुदाय प्रहरी साझेदारीअन्तर्गत स्थानीय सरकार, समुदाय, क्लबसँग मिलेर सचेतनातर्फ पनि जोड दिइएको छ।
फेस्टी मुडमा मादक पदार्थ सेवक गर्ने, जुवातास खेल्ने गरिन्छ। मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने अथवा झैझगडा हुनसक्ने भएको हुनाले विशेष सुरक्षाअन्तर्गत यस्ता घटना हुन नदिन ट्राफिक चेकप्वाइन्ट अरु समयभन्दा बढाउने, मापसे चेकिङ गरेर निरुत्साहित गर्ने व्यवस्था मिलाइएको छ। अर्कोतर्फ झैझगडा नहोस् भनेर व्यापक गस्ती र पट्रोलिङ गर्ने व्यवस्था मिलाइएको छ।