सोह्र श्राद्ध : किन गरिन्छ सोह्र श्राद्ध ?
सोह्र श्राद्ध हरेक वर्ष आश्विनकृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा सम्म ,१६ तिथिहरूमा गरिने श्रद्धाहरूलाई सोह्र श्राद्ध भनिन्छ । विशेषतः यस सोह्र श्राद्धमा बुबाको मृत्यु भएको दिनको तिथिमा श्राद्ध गर्ने गरिन्छ जसले गर्दा पितृहरू वर्ष दिन सम्म तृप्त हुने विश्वास गरिन्छ ।
श्रद्धया दियते दानं इति श्राद्धं । अर्थात् श्रद्धाले दिइने , हुने र गरिने कर्मलाई नै श्राद्ध भनिन्छ ।
एकाकियों तिलैमिश्रांस्री स्र्त्रीन दयाज्जलान्जलीन ।
भावज्जीवकृतं पापं ततक्षादेव नश्यति । (धर्मशास्त्र)
अर्थात् जसले आफ्ना पितृहरूलाई तिलमिश्रित जलले तीन पटक अन्जुली प्रदान गर्दछ । उनीहरूको आदि देखि तर्पण दिएको दिन सम्मको पापहरू नाश हुन्छ । मातृ देवो भवः, पितृ देवो भवः । अर्थात् मातापिता यस धर्तीमा साक्क्षाद ईश्वरको अवतार हुनुहुन्छ । हामी त्यसै यस धर्तीमा उत्पत्ति भएका होइनौँ हाम्रा सृष्टि कर्ता भनेका हाम्रा मातापिता नै हुन् । उहाँहरू हुनुहुन्न थियो भने हाम्रो पनि अस्तित्व हुँदैन थियो। त्यसैले जीवित छँदा मातापिताको निष्काम सेवा गर्नु मानव कर्तव्य हो। त्यसै गरी मृत्युपर्यन्त पनि पितृहरूको सम्झनामा श्राद्ध गर्नु पनि हाम्रो प्रमुख कर्तव्य हो । आफ्नो मातापिता प्रति आदर सत्कार गर्ने सभ्यता विश्वविख्यात नै छ।
नेपाली समाजमा एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध अर्थात् पार्वण श्राद्ध प्रचलित छन्। आश्विन कृष्ण प्रतिपदा देखि आरम्भ हुने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ। शास्त्रले पार्वण श्राद्ध गर्ने समय पनि सटीक निर्दिष्ट गरेको छ । ज्योतिष शास्त्र अनुसार सूर्योदयदेखि सूर्यास्तसम्मको समयलाई पाँच भाग लगाइन्छ । पहिलो भागलाई प्रातः, दोस्रोलाई सङ्गव, तेस्रोलाई मध्याह्न तथा चौथोलाई अपराह्न र पाँचौँ भागलाई सायं भनिन्छ ।
महालय श्राद्ध अपराह्नकालमा गर्नु पर्छ जसका लागि चौथो भागमा पिण्डदान गर्ने गरी श्राद्ध सुरु गर्नु पर्छ। त्यसैसरि पितृको मृत तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध तेस्रो भाग अर्थात् मध्याह्नकालमा गरिनुपर्छ । समयभन्दा अघि श्राद्ध थाल्नु हुँदैन किनभने शास्त्र विपरीत कर्म ,कर्म नभएर अकर्म हुन जान्छ जसले कर्म गर्ने तथा गराउने लाई पनि हानि गर्छ। समयमा नगरे श्राद्ध, ठेगाना विनाको चिठ्ठी जस्तै हो जुन कसैको हातमा नपरी हराएर जान्छ । त्यसैसरि विद्धानहरूको मत अनुसार एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा लगाउनुहुँदैन। तर यदि लगाएमा पितृले श्राप दिन्छन् र त्यस श्राद्धको फल प्राप्त हुँदैन । धेरै घरमा एकै ब्राह्मणले श्राद्ध गर्ने र बिहानैदेखि सोह्र श्राद्ध गर्नु शास्त्रविरुद्ध छ र त्यस्ता कर्महरू अकर्मण्य हुन्।
पिता ददाति सत्पुत्रान् गोधनानि पितामहः।
धनदाता भवेत्सोपि यस्तस्य प्रपितामहः ।।
दद्याद्बिपुलमन्नाद्यं वृद्धस्तु प्रपितामहः ।
तृप्ता श्राद्धेन ते सर्वे दत्त्वा पुत्रस्य वाञ्छितम् ।।
पिता प्रसन्न भए असल छोरा र पितामह खुसी भए गोधन त्यसै गरी प्रपितामह अप्रसन्न भए अतुल वैभव तथा वृद्ध प्रपितामह खुसी भए प्रशस्त अन्नादि प्रदान गर्दछन्। एवम् सम्पूर्ण पितृहरू श्राद्धद्वारा तृप्त भए , पुत्रलाई इच्छित फल प्रदान गरी आफू स्वर्गमा परम आनन्दका साथ बस्न पाउँछन् भन्ने शास्त्रको भनाइ छ ।
हामी तिनै पितृहरूका सन्तति हौ। वृक्ष जति ठुलो भए पनि त्यसका हाँगाहरूले जरो त्याग्न सक्दैनन् यदि त्याग्छन् भने मरेर पतन भएर जानेछन् । त्यसैले हाम्रा पूर्वज पितृहरूलाई सदैव श्रद्धापूर्वक आदर सम्मान गर्नुपर्दछ किन भने हामी हाम्रै पितृहरूका उपज हौँ। यदि पितृहरूलाई हामीले बिर्सेऊ भने हाम्रो पनि पतन निश्चित छ।