नागरिक पोष्ट News


‘कमेडी च्याम्पियन २’ को उपाधि भरतमणि पौडेललाई

2.4K

लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको आज फाइनलको उपाधि भरतमणिले जितेका छन् । अन्य दुइ जना कमेडीयन विक्की अग्रवाल र सन्तोष थापालाइ पछाडी पार्दै भरतमणिले उपाधि हात पारेका हुन् । पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।

भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा थिए । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगायतको क्यारिकेचर गरेर दर्शकको मन जितेका थिए । समसामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको थियो । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा थिए ।

प्रशंसकदेखि कमेडी च्याम्पियनका निर्णायकहरूले भनिसकेका थिए कि, ‘कमेडी च्याम्पियन सिजन-२ जिते पनि नजिते पनि भरतमणिले बाजी मारी सके।’

भरतमणिको क्षमता र चर्चा हेर्दा हो पनि। भरतमणि सिजन-२ मा अरूमाथि हाबी भएका कलाकार थिए। उनी मिमिक्रीमा निपूण छन्। पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति निकै रूचाइए।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका छन्। आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्। त्यसैले उनी आफ्ना सबै प्रस्तुतिमार्फत दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल रहे। मासअपिल गर्न सक्नु भरतमणिको बलियो पक्ष हो। यही कारण उनी प्रतियोगिताभर अरूमाथि हाबी भइरहे भन्दा फरक पर्दैन।

यसमा उनको पूर्वअनुभवले पनि साथ दियो। ताप्लेजुङवासी उनी रेडियो तमोरमा ‘टेन्सन-फ्री’ कार्यक्रम चलाउँथे। यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाएका हुन्। उनले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन्। कमेडी च्याम्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाएका थिए।

यस्तै अनुभवले उनलाई कमेडी च्याम्पियनमा खारिएको प्रस्तुति दिन सक्षम बनाएको हो। पटक-पटक ‘पर्फमर अफ द शो’ बनेका उनी कमेडी च्याम्पियन बन्न सफल भए। भरतमणि आफू स्ट्यान्ड अप कमेडीमा नै केन्द्रित हुने बताउँछन् ।

Must View