बोक्सीको आरोपमा काठमाडौँमा नै चरम यातनाः पिडित महिलाले राष्ट्रिय महिला आयोगमा उजुरी दिइन्
काठमाडौँको स्वयम्भूमा शुष्मा महर्जनलाई उनको परिवारले बोक्सीको आरोपमा चरम यातना दिएको पाइएको छ । पिडित महिलाले दिएको जानकारीका अनुसार राष्ट्रिय महिला आयोगले पिडक वा दोषीलाई कानुनी उपचारको लागि प्रकृया अगाडी बढाएको छ । पिडितले दिएको जानकारीको आधारमा आयोगका आयुक्त कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वमा कानुन अधिकृत विमला खड्का र प्राविकधि सल्लाहकार पलिता थापासहितको टोलीले यातना भोगिरहनुभएकी हाल माइती घरमा रहनुभएकी महर्जनलाई भेट गरी हालका अवस्था र घटनाको बारेमा जानकारी लिएको छ ।
आयोगका अनुसार बोक्सीको आरोपमा निर्घात रुपमा कुटपिट गरिसकेपछि श्रीमानले माईती लगेर छोडिदिएको र हालसम्म पनि उहाँको जिउभरि निलडाम र चोटपटकले उहाँलाई सुत्न, उठ्न समेत गाह्रो भएको अवस्था रहेको छ । हरेक दिन फिजियोथेरापि जानु पर्ने वाध्यता र साथमा २० महिनाको बच्चाको पनि रेखदेख गर्नु पर्ने कारणले उहाँलाई थप समस्या भएको आयोगले जनाएका छ ।
माइतीले सहयोग गरेको कारण पिडितले आफूमाथि भएको हिंसाको विरुद्ध आवाज उठाउन सकेको र केही राहत भएको भएतापनि पीडकले आफूलाई दिएको यातनाको सजायबाट कतै उन्मुक्ति पाउने हो कि भन्ने त्रासमा रहेको गुनासो गर्नुभयो । तर आफू र छोरीको भविष्यले उहाँलाई सबैभन्दा बढि सताउने गरेको बताउनुहुन्छ । अहिलेसम्म उपचारमा लागेको खर्च माइती पक्षले गरिरहेको छ । पीडित महिलाकी आमाले आफ्नो छोरीले भाग्यले बाँचेको र यस्तो यातना दिने व्यक्तिले कडाभन्दा कडा सजाय पाउनुपर्ने बताउँदै आयोगलाई पिडितलाई उचित क्षतिपूर्ति दिलाउनको लागि पनि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल खतिवडाले काठमाडौँमा भएको यस घटनाले आज पनि समाजमा अन्धविश्वाशले कति जरा गाडेको छ भन्ने कुरालाई स्पष्ट रुपमा दर्शाएको र आयोगले पीडित महिलालाई न्याय दिलाउनको लागि आवश्यक पहल गर्दै आगामी दिनमा पनि यस्ता घटनाहरु घट्न नदिने प्रतिवद्धता जाहेर गर्नुभयो । आयोगले पीडकहरुलाई कडाभन्दा कडा सजाय दिलाउन र पीडितलाई न्याय दिलाउन आवश्यक कार्य गर्ने छ ।
पिडकहरुको गतिविधिहरु तथा गरिएको अपराधिक गतिविधिहरु माइतिलाई सुनाउँदा पनि धम्की दिएको समेत बताइएको छ । आमा र दाजुले हनुमान ढोकामा उजुरी दर्ता भएपछि अपराधि समातीएको छ । पिडक पक्षले यसमा अन्य भिडियो लिने र डाक्टरकोमा उपचारको लागि नलगी झाँक्रीकोमा उपचार गर्न लानुपर्छ भनि दवाव समेत दिने गरेको खुल्न आएको छ । पिडितको भनाई अनुसार नियतबस उक्त घटनामा भिडियो खिच्ने सानी आमाको समेत उक्त घटनामा संलग्न रहेको आशंका गरिएको छ ।