६ वर्षपछि सिंगापुरले माग्यो नेपाली कामदार, खर्च ५० हजार, एक लाख ८६ हजार रुपैयाँ तलब पाउने
सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन।त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए।
यसपटक हाउसकिपिङका लागि दुईसय नेपालीको माग आएको हो। सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ।
सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो।श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो।म्यानपावर कम्पनीले त्यहाँ जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी फाइल पेश गरेको छ।
वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयले चार दिनअघि कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिलाई एक सय जनाको पूर्वस्वीकृति दिएको छ।कार्यालयका निर्देशक सुरेश जोशीले म्यानपावर कम्पनीले दुई महिना पहिले नै पूर्वस्वीकृतिका लागि फाइल पेश गरेको भए पनि सेवाशुल्क लगायतका विषय टुंगो लगाउँदा ढिला भएको बताए।
विभागले पहिलो चरणमा एक सय कामदारका लागि स्वीकृति दिएको छ। एकैपटक सबै कामदार पठाउन स्वीकृति दिँदा भोलि त्यहाँ पुगिसकेपछि समस्या भोग्नुपर्ने हो कि भनेर पहिलो चरणमा आधालाई मात्रै स्वीकृति प्रदान गरिएको निर्देशक जोशीले बताए।
एक सय कामदार पठाइसकेपछि उनीहरुको अवस्था हेरेर बाँकी श्रमिक पठाउन श्रम स्वीकृति दिने कि नदिने भनेर निर्णय गर्ने विभागको तयारी छ।पूर्व स्वीकृतिसँगै अब म्यानपावर कम्पनीले कामदार माग गर्दै विज्ञापन गर्नेछ। त्यसपछि कामदार छनौट गरेर भिसा लगायतका प्रक्रिया पूरा गर्दै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिनेछ।