असोज १ गतेदेखि खाद्यका सहुलियत पसल खुल्ने, प्रतिकिलो १० रुपैयाँसम्म सस्तोमा पाइने
काठमाडौं । नजिकिँदै गरेको दशैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १ गतेदेखि ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
आम उपभोक्तालाई प्रमुख चाडपर्वका अवसरमा सहज रूपमा सुलभ मूल्यमा दैनिक उपभोग्य खाद्य सामग्रीहरू उपलब्ध गराउँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यसलाई यो वर्ष पनि निरन्तरता दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिए ।
उनले आर्थिक न्युजसँग भने, ‘नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर असोज १ गतेदेखि व्यापकरुपमा सहुलियत पसल सञ्चालन गर्ने तयारी छ । यस वर्ष उपत्यका सहित ४३ स्थानमा पसल सञ्चालन गर्छौँ । सहुलियत पसलमा खाद्य सामग्रीको दाम निर्धारित मूल्य भन्दा सस्तो हुन्छ ।’खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले पनि असोज १ गतेदेखि ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी रहेको जानकारी दिइन् ।
सहुलियत पसलमा नुन, तेल, चामल, चिनी, चिउरा, गेडागुडीदेखि मासुसमेत छुट सहित सुलभ मूल्यमा पाइने छ । सहुलियत पसलमा तेल, चामल, दाल, चिउरा, पिठोमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, भटमासको तेल, गेडागुडी र कर्णाली सिमीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याङ्ग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ ।