नागरिक पोष्ट News


तारकेश्वरमा भदौ २७ गतेदेखि विद्यालयहरु खुलाउन नगरपालिकाको निर्देशन

1.5K

काठमाडौं । तारकेश्वर नगरपालिकामा करिव ५ महिनापछि विद्यालयहरु खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १६ गते विज्ञप्ति निकालेर काठमाडौं उपत्यकाको सबै नगरपालिका र महानगरपालिका मातहतका विद्यालयहरु सञ्चालन गर्न अनुरोध गरेपछि अहिले स्थानीय तहहरुले आ–आफ्नो तरिकाले विद्यालय सञ्चालन गर्न थालेका छन् ।

स्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा गरेर मात्र विद्यालय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेपछि आज तारकेश्वर नगरपालिकाको नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले एक विज्ञप्ति निकालेर निजी र सामुदायिकका सम्पूर्ण विद्यालयहरुलाई भदौ २७ गतेदेखि कक्षाहरु सञ्चालन गर्न अनुरोध गरेका छन् ।

गत वर्ष नगर शिक्षा साखाले माथिल्ला तहका मात्र कक्षा सञ्चालन गर्न भनिए पनि यसपटक सबै कक्षा एकैपटक सञ्चालन गर्न सकिनेछ । विद्यालय सञ्चालन गर्नुभन्दा अगाडी स्वास्थ्यको सबै मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।

विद्यालय सञ्चालन गर्नुभन्दा अगाडी सम्बन्धित वडाको वडाअध्यक्ष वा जनप्रतिनिधि र वडाको स्वास्थ्य प्रमुख, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको बैठक गरी विद्यालय सञ्चालन गर्नुपर्नेछ ।

विद्यालयको अवस्था हेरेर बिहान, दिउँसो दुई, तिन सिटमा अध्ययन गराउन सकिनेछ । अनलाइन कक्षाहरुलाई पनि आवश्यकताअनुसार निरन्तरता दिन सकिनेछ । विद्यालयहरुले तोकिएको स्वास्थ्य मापदण्ड पुरा गरे/नगरेको निरिक्षण नगर शिक्षा शाखा, वडा कार्यालयबाट अनुगमन नियमित रूपमा हुनेछ ।

विद्यालयमा राजनीतिक गतिविधी गर्न पाइने छैन । प्रधानाध्यापकले विद्यालयमा राजनीतिक गतिविधी बन्द गर्न कडाईका साथ लाग्नुपर्नेछ । तारकेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्मको तयार गरीसकेको अवस्थामा उक्त पाठ्यक्रमलाई अनिवार्य रूपमा पठनपाठनको व्यवस्था विद्यालयले मिलाउनुपर्नेछ । लकडाउनका कारण लामो समय विद्यालय बन्द भएकाले शिक्षकहरुलाई विरामी बिदा बस्न पाइने छैन ।

Must View