काठमाडौंमा वर्षकै ठूलो वर्षा, ३८२ घर डुबे, १३८ जनाको उद्धार
काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको मौसमविदहरुको भनाइ छ ।
यो तथ्याङ्क प्रारम्भिक मात्रै भएकोले अझै धेरै वर्षा भएको हुनसक्ने मौसमविदहरुको भनाइ छ । यतिका ठूलो वर्षा यो वर्ष भएको थिएन् । गएराति २ बजेयता मेघ गर्जनसहित अत्याधिक वर्षा भएको थियो ।
काठमाडौं उपत्यकाका सबैजसो ठाउँमा उत्तिकै वर्षा भएको पनि मौसमविदहरुको भनाइ छ । छोटो समयमा यतिका ठूलो पानी पर्ने घटना कमै भएको पनि विज्ञहरुको भनाइ छ।
आज पनि काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा पानी परिरहेको र यसल दिनभरी नै निरन्तरता पाउने बताइएको छ । र, यो क्रमा भोलिसम्म रहनसक्ने बताइएको छ ।
बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।