नागरिक पोष्ट News


सन्दिप क्षेत्रीको ‘श्री’ फेरि रिलिज गर्ने तयारी

1.1K

काठमाडौं - कोरोना भाइरसको संक्रमण रोकथामका लागि तीन जिल्लाका प्रशासन कार्यालयले गत बैशाख ६ गते सिनेमा घर बन्द गर्ने निर्णय गर्‍यो । त्यसबेला हलमा अभिनेता सन्दिप क्षेत्री अभिनीत फिल्म ‘श्री’ प्रदर्शनरत थियो । संक्रमण फैलिनबाट रोक्न प्रशासनले सिनेमा हल खोल्न प्रतिबन्ध लगाएपछि फिल्म एक सातामै उत्रियो । जसले गर्दा यो फिल्मले प्रचारमा भएको खर्च समेत उठाउन सकेन ।   बिहीवारबाट तीनै जिल्लाका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । चार महिनापछि हल खुल्न लागेको कुराले फिल्मकर्मीहरु उत्साहित भएका छन् । हल व्यवसायीहरु पनि बुधवारबाटै सिनेमा घरको सरसफाईमा जुटेका छन् । तर, तत्काल कुन फिल्मबाट सिनेमा घरको टिकट काउन्टर खोल्ने भन्ने निधो भइसकेको छैन । 

  सिनेमा हलसम्म दर्शक आउने माहोल नबनेसम्म नयाँ फिल्म रिलिज गर्न निर्माताहरु तयार नदेखिएको अवस्थामा प्रदर्शनकै क्रममा रोकिएको फिल्म ‘श्री’ लाई नै पुनः प्रदर्शन गर्ने तयारीमा यसको वितरक कम्पनी जुटेको छ । जिजिए ग्रुपका हर्ताकर्ता करण श्रेष्ठले अन्यायमा परेको फिल्मलाई न्याय दिनुपर्ने बताए । रिलिजकै क्रममा रोकिएकाले ‘श्री’ लाई पुनः रिलिज गर्नुपर्ने उनको माग छ ।    उनी भन्छन्, ‘फिल्मको पहिलो शोमा ५ जना दर्शक थिए । बलियो माउथ पब्लिसिटीपछि फिल्मले दर्शकको संख्या बढाउँदै लगेको थियो । तर, कोरोनाका कारण सिनेमा हल बन्द भएपछि फिल्म राम्रोसँँग चल्न पाएन । अब फेरि यही फिल्म रिलिज गरेर सिनेमा घरको पर्दा उघार्नुपर्छ । किनकि, रिलिजकै क्रममा रोकिएर यो फिल्ममाथि अन्याय भएको छ । पुनः रिलिज गरेर न्याय दिनुपर्छ ।’   कोरोना महामारीभन्दा अगाडि जिजिए ग्रुपसँग वितरण गर्ने फिल्म एक दर्जन बढी थिएरछन् । ‘म यस्तो गीत गाउँछु २, चिसो मान्छे, माइकल अधिकारी, मनसँँग मन’ लगायतका फिल्मको वितरण यही ग्रुपले गर्दैछ । वितरक श्रेष्ठ आउँँदो दशैंमा यीमध्ये दर्शकले प्रतिक्षा गरेको एक फिल्म रिलिज हुने बताए । यसका लागि हल व्यवसायीदेखि वितरकसम्मको साथ चाहिने उनको भनाई छ ।

Must View