नागरिक पोष्ट News


शिवपुरीको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञानेन्द्र प्रसाद भट्ट नियुक्त

1.5K

शिवपुरी : शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ज्ञानेन्द्र प्रसाद भट्टले सम्हालेका छन् ।

शिक्षा शाखा प्रमुख रहेका भट्टले रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी आधिकारीक रुपमा मंगलबारबाट सम्हालेका हुन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको हो।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्वागत तथा पदभार ग्रहण गराउँदै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जनप्रतिनिधिहरुको यो अन्तिम कार्यकाल भएकाले सबै कर्मचारीहरुबाट राम्रो सहयोग मिल्ने विश्वास व्यक्त गरे । सम्वृद्ध शिवपुरी निर्माणका लागि कर्मचारीहरुको कार्यसम्पादन राम्रो हुनु आवश्यक रहेको भन्दै अध्यक्ष थापाले यसमा जनप्रतिनिधिहरुको पूर्ण सहयोग रहने बताए।

पदभार ग्रहण गर्दै शिवपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र प्रसाद भट्टले शिवपुरी गाउँपालिकाको विकास सामूहिक काम भएकाले कर्मचारी र जनप्रतिनिधिहरुबीचमा राम्रो सम्बन्ध कायम हुनुपर्ने बताए । कार्य सम्पादनका क्रममा उत्पन्न हुने समस्याको समाधान गाउँपालिकाभित्रै खोज्नुपर्नेमा उनले जोड दिए । प्रमुख प्रशासकीय अधिकृत भट्टले आ–आफ्नो तोकिएको जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्न सबै कर्मचारीहरुलाई आग्रह पनि गरे । धादिङ स्थायी घर भएका भट्ट विगत २ वर्षदेखि नै शिवपुरीमा कार्यरत छन।

Must View