नागरिक पोष्ट News


अब फेसबुकको मुख्य एपबाटै भिडियो कल, मेसेन्जर नचाहिने

1.4K

-भरतराज उप्रेती

काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएसँगै विश्वमा भिडियो कलिङको उच्च मागलाई ध्यानमा राख्दै फेसबुक लगायतका सोसल मिडिया कम्पनीहरुले पनि आफ्ना मेसेजिङ तथा कलिङ एपहरुमा एकपछि अर्को गर्दै नयाँ–नयाँ फिचरहरु थप गर्दै लगेका छन् । फेसबुक कम्पनीले पनि आफ्नो ह्वाट्सएप तथा मेसेन्जर एपमा भिडियो कलिङका लागि विभिन्न नयाँ फिचरहरु थप गरिरहेको छ ।

हालसम्म फेसबुकले ह्वाट्सएप र फेसबुक मेसेन्जरमा भ्वाइस तथा भिडियो कलिङ फिचर उपलब्ध गराउँदै आएको छ । तर अब कम्पनीले फेसबुकको मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल गर्न सकिने सुविधा दिने भएको छ । अर्थात् अब भिडियो कल तथा भ्वाइस कल गर्नका लागि तपाईंले मेसेन्जर डाउनलोड गरिरहनु पर्नेछैन, फेसबुकको मुख्य एपबाटै गर्न सक्नुहुनेछ । यसबाट प्रयोगकर्ताले केबल कल गर्नका लागि मात्रै मेसेन्जर एप डाउनलोड गर्नुपर्ने छैन ।

फेसबुकका प्रवक्ताले चाहिं फेसबुकको मुख्य एपमा भिडियो तथा अडियो कलिङको सुविधा थप हुन लागेको भए तापनि धेरै खाले फिचर्सका लागि प्रयोगकर्ताले मेसेन्जर एप नै प्रयोग गर्नुपर्ने बताएका छन् । फेसबुकको मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचरको पुनरागमन हुने पक्कापक्की भए पनि एकिन मिति चाहिं खुलासा भएको छैन ।

फेसबुकले गत हप्तामात्रै नयाँ भर्चुअल रियालिटी रिमोट वर्क एप सार्वजनिक गरेको थियो । जसमा प्रयोगकर्ताले कुनैपनि मिटिङमा आफ्नो साटो कुनै भर्चुअल अवतारको प्रयोग गर्न सक्दछन् ।

 

Must View