नागरिक पोष्ट News


कोदो खेती : लागत र मेहनत बढी, उत्पादन कम

1.3K

लमजुङ –  पहाडी जिल्ला लमजुङमा कोदो खेतीमा किसानको आकर्षण घट्दो छ । खेताला पाउन गाह्रो, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी मदन रेग्मीले जानकारी दिनुभयो ।

पुरानै बिउ तथा परम्परागत ढङ्गले कोदो खेती गर्नाले पनि लमजुङमा कोदोको उत्पादन बढ्न सकेको छैन । लमजुङमा गएको वर्ष सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा सात हजार पाँच सय १५ मेट्रिक टन कोदो उत्पादन भएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सात हजार पाँच सय हेक्टर क्षेत्रफलमा कोदो खेती हुने अनुमान गरिएको छ ।

लमजुङमा कोदो खेतीको विस्तार हुन सकेको छैन, उत्पादन पनि बढ्न सकेको छैन । स्वास्थ्यका दृष्टिकोणले कोदोको परिकार लाभदायी हुने भए पनि गाउँघरमा यसको प्रयोग कम हुँदै गएको बरु सहर बजारका होटल, रेस्टुरेन्टमा कोदोको परिकार पाक्ने गरेको र बजारी क्षेत्रमा कोदोको परिकारको उपयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रेग्मीले बताउनुभयो ।

लमजुङमा अहिले धमाधम कोदो रोपाइँ भइरहेको छ । विभिन्न ठाउँका किसान अहिले बारीमा धमाधम कोदो रोप्न जुटेका हुन् ।

रेग्मीका अनुसार लमजुङको माथिल्लो भेगमा मध्य असारदेखि फाट्टफुट्ट रूपमा कोदो रोपाइँ सुरु हुन्छ । लमजुङमा मध्य भदौसम्ममा कोदो रोपाइँ गरिन्छ । अहिले ६० प्रतिशत हाराहारीमा कोदो रोपाइँ सकिएको उहाँले बताउनुभयो ।

लमजुङको इलमपोखरी, नौथर, पाचोक, गौँडा, नाल्मालगायतका ग्रामीण क्षेत्रमा कोदो खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा लार्फे, लाहुरे लगायतका स्थानीय जातका साथै डल्ले, ओख्ले लगायतका उन्नत जातका कोदोको खेती हुँदै आएको छ । लमजुङमा स्थानीय जातकै कोदोको खेती हुँदै आएको रेग्मीले बताउनुभयो । 

 

 

Must View