पोखरामा यसरी जमिन भासिन थाल्यो !
कास्की – अविरल वर्षाका कारण पोखराको मुटु महेन्द्रपुलमा जमिन भासिएको छ । भीषण बर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आइतबार राति मूख्य सडकमा भ्वाङ परेको छ । अविरल वर्षासँगै आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भासिएको हो ।पोखरामा साँझपखबाट शुरु भएको भीषण वर्षासँगै आएको ठुलो भलका कारण घर नजिकैको सडक भासिएपछि स्थानीयवासी त्रसित बन्न पुगेका छन् ।
पोखराको उतरी क्षेत्र विन्ध्यबासीनी मन्दिर र नदीपुर हुँदै आएको भलपानी भास्सिएको जमिनमा पसेपछि स्थानीयवासीले खतरा महशुस गरेका हुन् ।सडकमा करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको छ । जमिन भास्सिने क्रममा बिद्युत र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि असर परेको छ ।
सडक भास्सिदा पार्किङ गरी राखिएको नानो कारको केहि भाग धस्सिएपनि तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका छन् ।रातिको समय जनैपूर्णिमाको बेला सडक भास्सिएर घर नै जोखिममा परेपछि स्थानीयवासीहरु पानीमा रुझ्दै र भिज्दै प्रहरीहरुसँगै भल तर्काउन लागि परेका थिए ।
अबिरल बर्षा का पोखरा १५ परोपकार वैदिक गुरुकुल आश्रम परिसरमा पनि जमिन भासिएको छ भने कुनै मानवीय क्षति भएको छैन ।लगातारको वर्षात तथा सक्रिय मनशुन रहिरहेका बेला गत वर्षहरुमा झै यस वर्ष पनि जमिन भासिन थालेपछि स्थानिय त्रसित बनेका छन् ।
पोखराको अर्मलास्थित ठुलीबेसीफाँटमा आठ वर्ष अघि एकाएक जमिन भासियो । त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो । पोखरा शहरको मध्यभागमै जमिन भासिन्थे । तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो । अर्मलामा भने निकै ठूला भ्वाङ परे ।