नागरिक पोष्ट News


विदेशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ जारी, यस्तो छ व्यवस्था र शर्तहरू

896

काठमाडौं - सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी आदेश–२०७८’ जारी गरेको छ । पर्यटन विभागद्वारा मंगलवार प्रकाशित उक्त आदेश कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आगमन व्यवस्थित गर्न जारी गरिएको र तत्काल लागू हुने बताइएको छ ।

जसअनुसार नेपाल सरकारले उडान खुल्ला गरेका वायुसेवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस आदेशमा उल्लेख भएका व्यवस्थाको पूर्ण पालना गर्ने शर्तमा मात्र अन्तर्राष्ट्रिय उडान अनुमति दिनुपर्ने आदेशमा उल्लेख छ । यो आदेश प्रारम्भ हुनु अघि उडान अनुमति दिइसकेका उडानका हकमा समेत त्यस्तो शर्त अनिवार्य रूपमा लागू गर्नुपर्ने भनिएको छ ।

पर्यटन विभागले क्वारेन्टिनका लागि स्वीकृत मापदण्ड पूरा गरेका होटेलहरूको सूचीकरण गर्ने उल्लेछ । सूचीकृत भएका होटलको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पर्यटन विभाग र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० तथा सम्बद्ध निकायको वेबसाइट मार्फत सार्वजनिक गरिने भएको छ । अन्तराष्ट्रिय उडानबाट नेपाल बाउने यात्रुहरूले पालना गर्नुपर्ने शर्तहरूमा एअरलाइन्सले हवाई यात्राको लागि यात्रुको चेक इन गर्नु अघि पछिल्लो ७२ घण्टाभित्रको फोटो एवं बारकोट सहितको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण र सीसीएमसी को वेबसाइटमा रहेको एब्रोड रिटर्नी म्यानेजमेन्ट सिस्टम फाराम भरेको यकिन गरेपछि मात्र यात्रुहरूलाई पहिलो चेक इन गराउनु वा हवाई उडानबाट नेपाल ल्याउनुपर्नेछ ।

तर, फोटो एवं बारकोट वा कोड सहितको कोभिड–१९ परीक्षणको रिपोर्ट जारी नहुने मुलुकको हकमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोग समेतको सहयोगमा परीक्षण रिपोर्टको ढाँचा अग्रिम रूपमा प्राप्त गरी सोहीबमोजिमको परीक्षण रिपोर्ट यात्रुको साथमा हुनुपर्ने जारी आदेशमा उल्लेख छ ।

विदेशबाट नेपाल आगमन गर्ने यात्रुले यात्रा गर्नुअघि एब्रोड रिटर्नी म्यानेजमेन्ट सिस्टम अनलाइन फाराम भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर आउनुपर्नेछ । विशेष परिस्थितिका कारण यात्रा शुरू गर्नुअघि अनलाइन फाराम भर्न नसकेका यात्रुहरूको हकमा उडानको लागि चेक इन गर्नु अघि सो अनलाइन फाराम भर्नु भराउनु पर्नेछ ।

कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाइ मार्गबाट आउने यात्रुहरूलाई १० ९दश० दिन स्व–क्वारेन्टिनमा बस्नेगरी सीधै गन्तव्यस्थल जान अनुमति दिन सकिनेछ । निजहरूले भरेको फाराममा उल्लिखित विवरण सम्बन्धित डीसीसीएमसी र स्थानीय तहमा पठाउनुपर्ने उल्लेख छ । सम्बन्धित डीसीसीएमसी र स्थानीय तहले निजहरू क्वारेन्टिनमा बसे नबसेको अनुगमन गरी सीसीएमसीलाई प्रतिवेदन दिनुपर्नेछ ।

डिपोर्टेशन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भई स्वदेश फिर्तीको क्रममा रहेका र बेखर्ची भएका नेपालीहरूको सम्बन्धमा सम्बन्धित कुटनीतिक नियोगले छानविन गरी आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरेका व्यक्तिहरूलाई नेपाल सरकारले तोकेको क्वारेन्टिनमा राखिनेछ। यस्ता व्यक्तिहरू क्वारेन्टिनमा बस्दा, निजहरूको कोभिड–१९ परीक्षण गर्दा तथा निजहरू घरसम्म जाँदा लाग्ने खर्च नेपाल सरकारले बेहोर्ने जानकारी दिइएको छ ।

आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार ९काजकिरिया० मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तह वा सीसीएमसीको सिफारिसको आधारमा एन्टिजेन परीक्षण गरी परीक्षण रिपोर्ट नेगेटिभ आएमा तोकिएको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान अनुमति दिइनेछ । निजले एघारौं दिनमा अनिवार्य रूपमा कोभिड–१९ परीक्षण गर्नुपर्नेछ । स्थानीय तहले त्यसको अनुगमन गरी सो को प्रतिवेदन सम्बन्धित डीसीसीएमसीमा गर्नुपर्नेछ ।

अशक्त, दीर्घ रोगी र फरक क्षमताका व्यक्तिहरू, बिरामीसँगै आएका कुरुवा ९बढीमा दुई जना० को हकमा निजहरूको एन्टिजेन परीक्षण गरी परीक्षण नेगेटिभ आएमा अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टिन वा अस्पतालमा पठाइनेछ । निजले एघारौं दिनमा कोभिड–१९ परीक्षण अनिवार्य गर्नुपर्नेछ । स्थानीय तहले सोको अनुगमन गरी डीसीसीएमसीमा प्रतिवेदन पेश गर्नुपर्ने विभागद्वारा जारी आदेशमा उल्लेख छ ।

७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका नाबालक र नाबालकसँगै आएका निजका आमा र बाबुको हकमा एन्टिजेन परीक्षण गरी परीक्षण रिपोर्ट नेगेटिभ आएमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारेन्टिनमा बस्ने गरी पठाउन सकिनेछ । निजहरूले एघारौं दिनमा पी।सी।आर। परीक्षण अनिवार्य गर्नुपर्ने र स्थानीय तहले त्यसको अनुगमन गरी सोको प्रतिवेदन सम्बन्धित डीसीसीएमसीमा पेश गर्नुपर्ने उल्लेख छ ।

Must View