नागरिक पोष्ट News


वैशाख १६ गतेदेखि असार मसान्तसम्म ६ सय ८० महिलामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक

1.2K

काठमाण्डौ – यस वर्षको निषेधाज्ञाको अवधि अर्थात् गएको वैशाख १६ गतेदेखि असार मसान्तसम्म ६ सय ८० महिलामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारी रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा महिला पुनर्स्थापना केन्द्र, ओरेकले सङ्कलन गरेको तथ्याङ्कअनुसार ६३ जिल्लामा ६ सय ८० महिला हिंसामा परेका हुन् ।

निषेधाज्ञाको अवधिमा अभिलेखीकरण गरिएका ६ सय ८० घटनामध्ये तीन सय ४१ घटना घरेलु हिंसाका रहेका छन् । ५० प्रतिशत हिंसा घरभित्रै हुने गरेका पाइएको ओरेक नेपालमा कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताउनुभयो ।

घरेलु हिंसाका घटनामा महिलालाई दाइजो नल्याएको वा कम ल्याएको, छोरी जन्माएको, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएको लगायतका कारण भएको देखिन्छ । सामाजिक हिंसाका घटनामा यौन दुर्व्यवहार तथा मानव बेचबिखनका घटना छन् ।

धेरैजसो महिला श्रीमान्, घरका सदस्य, नातेदार तथा छिमेकीबाट पीडित भएको पाइएको पनि निर्देशक न्यौपानेले बताउनुभयो । हिंसामा पर्ने महिलामध्ये ३१ प्रतिशतभन्दा धेरै १७ देखि २५ वर्ष उमेर समूहका छन् ।  

Must View