हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल
काठमाण्डौं - हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । दुवै मिर्गौला फेल भएर हाल उनी टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।
एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको कलाकार दिपाश्री निरौलाले जानकारी दिनुभयो । तर छोरीहरुले थाहा नपाऊन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् । अस्पतालमा डाइलसीस चलिरहँदा केही दिनदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन्। पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । स्वास्थ्य गम्भीर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् ।
पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् । चम्सुरी नामले परिचित पल्पसा अभिनयमा सक्रिय नै रहेकी थिइन्। उनले हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् ।