एमाले नेता भीम रावलले दिए सांसदबाट राजीनामा
नेकपा एमालेका उपाध्यक्ष तथा माधव नेपाल पक्षका भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षको निर्णयबाट असन्तुष्ट बनेका उनले आइतबार राजीनामा दिएका हुन् ।
रावलले आफूले लामो राजनीतिक जीवन बिताएको तथा नेपाल र नेपालीका निम्ती कार्य गरेको बताए । तर आफूले पछिल्लो राजनीतिक घटनाक्रममा खासगरी पार्टीका नेतृत्वहरुबाट भएको भूमिकाले आफूलाई निराश तुल्याएको उनले बताएका छन् ।
काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने स्थिति आएपछि उनले राजीनामा घोषणा गरेका छन् ।
पछिल्लो समय पार्टीको विवाद समाधानका लागि रावलले नेतृत्वदायी भूमिका खेलेका थिए ।
कार्यदलका नेपाल पक्षका संयोजक समेत रहेका रावलले आइतबार बिहान विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए ।
एमाले विभाजन गर्न उद्यत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति देउवाले मिलेर आजै देउवाले विश्वासको मत लिने भएका हुन् ।