नागरिक पोष्ट News


मेलम्ची बजारलाई पुरानै अवस्थामा ल्याउन स्थानीय बासिन्दा सक्रिय

861

सिन्धुपाल्चोक  -  मा आएको बाढीले मेलम्ची र आसपासका करिब एक सय ८० घरपरिवार विस्थापित भएर सामुदायिक विद्यालय र डेरामा बसोबास गर्दै आएका छन् । यस्तै हेलम्बुमा पनि सयौँ बासिन्दा विस्थापित छन् । 

बाढी पीडितलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने, सडक सञ्जाल जोड्न बेलिब्रिज राख्ने र खेतीयोग्य जमिनको कटान रोक्न तारजाली उपलब्ध गराउने आश्वासन प्रभावितले नपाएका पनि होइनन् । तर, आश्वासन कहिले पूरा हुन्छ भन्ने टुङ्गो छैन ।

बितेका वर्षमा जुरे, लिदी र जम्बु पहिरोमा जस्तै योजनाबिनाका आश्वासनकै भर पर्नुपर्ने त होइन भन्ने चिन्ता प्रभावितहरूमा छ । त्यसैले मेलम्ची बजारका बासिन्दाले ५० जनाको सरोकार समिति गठन गरेर बाढीले थुपारेको पाँगो माटो र बालुवा हटाउने काम थालेका छन् । स्थानीय सरकारले पनि प्रभावकारी काम गर्न नसकेकाले बजार बचाउन आफैँ लागि परेको स्थानीय रञ्जितकुमार श्रेष्ठले बताउनुभयो । 

बाढीबाट विस्थापितहरू आफ्नो भएको र बचेको जायजेथा खोज्न अहिले दिनैपिच्छे मेलम्चीको बगरमा भेटिन्छन् । उनीहरू बिहानैदेखि कोदालो, साबेल र खन्ती बोकेर बालुवाले पुरेको सरसामान झिक्ने प्रयासमा हुन्छन् । उनीहरूले नगरपालिकालाई बालुवा पन्छाउन माग गरिरहेका छन् । तर मेलम्ची नगरपालिकाले प्रभावकारी रुपमा काम नगरेको भन्दै स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिक रुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् ।  

स्थानीय सरोकार समितिका अगुवा सागर श्रेष्ठले मेलम्चीवासीले सधैँका लागि आफ्नो ठाउँ छाड्ने मनस्थिति नबनाएको बताउनुभयो । बचेका घरलाई सुरक्षा दिन दिनरात नभनी आफैँ लागि परेको उहाँको भनाइ छ । उहाँका अनुसार बजार बचाउन नदीमा ७ वटा मेसिन लगाइएको छ । स्थानीय सरकारले तदारुकता नदेखाएकाले बजार जोगाउन आफैँ लागि परेको उहाँले बताउनुभयो ।

 

Must View