नागरिक पोष्ट News


प्रदेश र स्थानीय तहलाई संघीय सरकारबाट ३ खर्ब ९८ अर्ब अनुदान

0.9K

काठमाडौं, १ साउन । चालू आर्थिक वर्षको ११ महिनामा प्रदेश र स्थानीय तहलाई संघीय सरकारबाट करीब ४ खर्ब अनुदान हस्तान्तरण गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मुलुकका ७ प्रदेश र ७५३ स्थानीय तहले चार वटा शीर्षकमा गरी जेठ समान्तसम्ममा कुल ३ अर्ब ९८ अर्ब ४५ करोड रुपैयाँ प्राप्त गरेका हुन् ।

नेपालको संविधान, अन्तर सरकारी वित्त हस्तान्तरण ऐन अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहको राजस्व क्षमता र खर्चको आवश्यकता अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा विनियोजन ऐन, २०७७ मा समावेश भएको समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान समेत गरी कुल ३ खर्ब ९८ अर्ब ४५ करोड हस्तान्तरण गर्नुपर्नेमा सो अवधिमा ८४.२३ प्रतिशत हस्तान्तरण भएको हो ।

समीक्षा अवधिमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको रकममध्ये समानीकरण अनुदान ५५ अर्ब १९ करोड, सशर्त अनुदान ४६ अर्ब ११ करोड, विशेष अनुदान ३ अर्ब १३ करोड र समपूरक अनुदान ५ अर्ब १८ करोड रहेको छ ।

यसैगरी सोही अवधिमा स्थानीय तहतर्फ हस्तान्तरण भएको कुल अनुदानमध्ये समानीकरण अनुदान ९० अर्ब ५ करोड, सशर्त अनुदान १ खर्ब ८७ अर्ब १५ करोड, विशेष अनुदान ६ अर्ब ८३ करोड र समपूरक अनुदान ४ अर्ब ७८ करोड रुपैयाँ रहेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

Must View