निषेधाज्ञा एक साता थपियो, असार १५ गतेदेखि सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने
काठमाडौँ । काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
भोलिबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा बिहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म मात्र संचालन गर्न दिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । त्यसरी चल्ने सार्वजनिक यात्रु बाहक सवारी साधनले स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको उनले बताए । कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञालाई खुकुलो पार्दै लगिएको छ ।