के हो ‘डेल्टा प्लस’ भेरिएन्ट, यसले विश्वभर मच्चाउँदै छ आतङ्क
काठमाडौँ। कोरोना महामारीको दोस्रो लहरबाट बाहिर निस्कन नपाउँदै अर्को त्रास थपिएको छ। त्यो त्रासको कारण हो, नेपालमा समेत सङ्क्रमित फेला परेको कोरोनाको ‘डेल्टा प्लस’ भेरिएन्ट।
‘डेल्टा प्लस’ भेरिएन्टका कारण यसरी चिन्ता थापिनुको कारण हो यसमा देखिएको उच्च सङ्क्रामकता। यसबाहेक यो भेरिएन्टका भाइरसको कोषमा टाँसिन सक्ने क्षमता समेत अघिल्ला भेरिएन्टको भन्दा अत्यधिक भएको देखिएको छ।
हालसम्म नेपालमा ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च सङ्क्रामक रहेको कुरा स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वीकार गरेको छ। ती नौ जनामा बालबालिका र वृद्धसमेत छन् । अधिकारीका अनुसार डेल्टा प्लसबाट सङ्क्रमित नौ जना निको भइसकेका छन्।
के हो ‘डेल्टा प्लस’ भेरिएन्ट
डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ नै डेल्टा प्लस भेरिएन्ट हो। भारतमा भेटिएका कोरोना भाइरसको डबल उत्परिवर्तीत रूप बी.१.६१७.२ लाई विश्व स्वास्थ्य सङ्गठनले डेल्टा नाम दियो। त्यसमा अर्को उत्परिवर्तन भएको ‘के४१७ एन’ समेत मिसिएको देखिए पछि त्यसलाई नै डेल्टा प्लस भेरिएन्ट भन्ने गरिन्छ। यस भेरियन्टलाई डेल्टा + भेरियन्ट वा ‘एवाई.१’ वा बी.१.६१७.२.१ पनि भनिन्छ।
‘के४१७ एन’ उत्परिवर्तनका साथ आएका यी रूपहरू मूल भाइरस भन्दा बढी सङ्क्रामक छन्। खोपहरू र औषधिहरूको प्रभावलाई यिनीहरूले कमजोर पार्न सक्छन्। त्यसैले यसले कोरोनाको अझ धेरै डरलाग्दो र खतरनाक तेस्रो लहर ल्याउने सम्भावना छ।
यसकारण बढी खतरनाक
विज्ञहरूका अनुसार धेरै सङ्क्रामक रहेको डेल्टा प्लस फोक्सोको कोशिकाको रिसेप्टरमा बलियोसँग टाँसिन सक्छ । यही कारणले फोक्सोलाई छिटो नोक्सान पुर्याउँछ । यो मोनोक्लोनल एन्टिबडी ककटेललाई समेत माथ दिन सक्षम देखिएको छ । भारतको इन्डियन सार्स कोभ–२ कन्सोर्टियम अन जिनोमिक्स (आईएनएसएसीओजी) का अनुसार डेल्टा प्लस भेरिएन्टको ट्रान्समिसन क्षमता र फोक्सोको कोशिकाको रिसेप्टर्ससँग टाँसिने क्षमता बढी छ ।
भारत सरकारले डेल्टा प्लसलाई ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ (चासोको भेरिएन्ट) को श्रेणीमा राखेको छ । भारतीय सञ्चारमाध्यमले भने पछिल्लो समय सरकारी स्रोतलाई उल्लेख गर्दै डेल्टा प्लसलाई बढी गम्भीर श्रेणी अर्थात् भेरिएन्ट अफ कन्सर्टमा राखिसकिएको जनाएका छन् ।
यस्तै भेरिएन्ट अफ इन्ट्रेस्टका रूपमा रहेको कप्पा भेरिएन्ट (बी.१.६१७.१) समेत नेपालमा देखिसकिएको हो । कप्पा भेरिएन्ट पहिलो लहरको भाइरसको दाँजोमा २८ देखि ८९ प्रतिशतसम्म बढी सङ्क्रामक देखिएको छ ।
हालसम्म नेपालमा ४१३ नमुनामा कप्पा भेरिएन्ट देखिएको थियो । हाल मुख्य रूपले नेपालमा कप्पा देखिएको छैन तर डेल्टा, डेल्टा प्लस, कप्पा सबैको सर्ने दर उच्च छ । यी भेरिएन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट देखिएको चिकित्सकहरूको भनाई छ ।
हालसम्म डेल्टा प्लस भेरिएन्ट नेपाल, भारत, अमेरिका, ब्रिटेन, क्यानडा, पोल्यान्ड, जापान, पोर्चुगल, रुस, स्विट्जरल्यान्ड, टर्की गरी ११ मुलुकमा पाइएको छ।
भारतमा ‘डेल्टा प्लस’ का कारण हाई अलर्ट
भारतमा केन्द्र सरकारले राज्यलाई पत्र लेखेको छ र तिनीहरूलाई कोरोनाको डेल्टा प्लस भेरियन्टका लागि सचेत गराएको छ। त्यहाँका युनियन स्वास्थ्य सचिव राजेश भूषणले राज्यका मुख्य सचिवहरूलाई पत्र पठाइएको र उनीहरूलाई डेल्टा प्लसको लागि पूर्ण तयारी गर्न आग्रह गरिएको बताएका हुन् । अहिले यसको खतरामा रहेका भारतका राज्यहरूमा आन्ध्र प्रदेश, गुजरात, हरियाणा, जम्मू कश्मीर, पंजाब, कर्नाटक, राजस्थान र तमिलनाडु सामेल छन्।
पत्रमा केन्द्रले कोरोनाको यस प्रकारको घटनाहरू देशमा द्रुत गतिमा बढिरहेको कुरा बताएको छ। यस्तो अवस्थामा, परीक्षण, ट्र्याकिङ र खोपको गति बढाउनु आवश्यक रहेको जनाइएको छ। जहाँ डेल्टा प्लस केसहरू फेला पर्छन् त्यहाँ कडाइ गर्ने नीति भारत सरकारले लिएको छ। केन्द्रले १० जिल्लामा अलर्ट पनि जारी गरेको छ।