बाढीपहिरोले जनजीवन प्रभावित, दर्जनौं नदीक्षेत्रमा अझै उच्च जोखिम, सर्तक रहनुहोला
काठमाडौं। केही दिनयता निरन्तर परेको वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ । तीमध्ये १३ जिल्ला नराम्ररी प्रभावित भएको गृह मन्त्रालयले बताएको छ । उक्त जिल्लामा हालसम्म ६ जनाको मृत्यु हुनुका साथै २७ जना बेपत्ता रहेका जानकारी मन्त्रालयले दिएको छ, जसमध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन चिनियाँ र तीन भारतीय नागरिक समेत छन् ।
मन्त्रालयका प्रवक्ता प्रवक्ता जकराज दाहालका अनुसार बाढीपहिरोले सिन्धुपाल्चोकमा दुई, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक–एक जनाको मृत्यु भएको छ । यस्तै सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा, गोरखा, प्युठन र अर्घाखाँचीमा एक–एक जना वेपत्ता भएका छन् ।
मन्त्रालयलाई प्राप्त तथ्यांक अनुसार बाढी र पहिरोका कारण ८९ घर पूर्ण रूपमा क्षति भएका छन् भने २६ घरमा आंशिक क्षति पुगेको छ । बाढी र पहिरो प्रभावितलाई राहत सामग्री पठाउने काम भइरहेको र बेपत्ता भएकाहरू खोजी तथा उद्धारका लागि लागि सुरक्षा निकाय परिचालन गरिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशभर वर्षा हुने जनाएको छ। जसले गर्दा बाढी र पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेको विभागले बताएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्नेछ । गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ । प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने बताइएको छ ।