काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रको खाद्यान्न सहयोग
काभ्रेपलाञ्चोक । कोरोना भाईरस सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाका कारण दैनिक समस्यामा परेका काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ६ का २ सय ४० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने पाँचखाल नगरपालिका वडा ६ का २ सय ४० विपन्न घरपरिवारलाई बुधबार उपकार सेवा नेपाल, अग्रवाल सेवा केन्द्र र समाजसेवी राजन थापाको सक्रियतामा खाद्यान्न सहयोग गरिएको हो ।
उनीहरुले पाँचखाल नगरपालिका ६ स्थित पन्चमुखी हनुमान मन्दिर, तिनपिप्ले लगायतका स्थानमा उक्त खाद्य सामाग्र्र्री वितरण गरेका हुन् । वितरण गरिएको सामाग्रीहरुमा दाल, चामल, तेल, नुन, चना, चिनी, चिउरा, मस्यौराका साथै स्वास्थ्य सामाग्री माक्स सेनिटाइजर लगायतका सामान रहेको विगत केही वर्ष देखि आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने अभियान संचालन गर्दै आएका समाजसेवी राजन थापाले बताए । यस्तै, प्रतिपरिवारलाई २१ सय बराबरको सामाग्री वितरण गरिएको समेत उनले जानकारी दिए ।
उक्त खाद्यान्न पाँचखाल नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राम शरण दुलालको विशेष समन्वय र अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र खेतान, उपकार सेवा नेपालका कार्यकारी अध्यक्ष राकेश अग्रवालको साथै महासचिव सुनिल कुमार धानुका, राजेन्द्र प्रसाद महनसरिया, प्रकाश टिवडेवाल, प्रवन्धक बालकृष्ण भट्टराई, नविन अग्रवाल, राहुल कुमार केडिया, समाजसेवी राजन थापा लगाएतको विशेष सहयोगमा वितरण गरिएको थियो
वडा अध्यक्ष दुलालले आफ्नो वडाभित्रका मजदुर परिवारलाई सहयोग गरेको धन्यवाद व्यक्त गर्दै दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने विपन्न परिवारलाई वडाको तर्फबाट पनि सहयोग गरिने बताए ।
उपकार सेवा नेपाल, अग्रवाल सेवा केन्द्र र समाजसेवी राजन थापाले कोरोनाको दोस्रो लहरकाबीच आपतमा परेकाहरु लाई यसअघि पनि सहयोग गर्दै आएका छन् । कोरोनाको महामारी र निषेधाज्ञा अन्त्य नहुँदासम्म आफुहरुको अभियान चलिरहने उनीहरुको भनाई छ । ‘दैनिक कमाई गरेर खानु पर्ने व्यक्तिहरु रोग र भोक दुबैको मारमा छन् । यस्तोमा खाद्यान्नको अभावलाई केही सहज बनाउने कोशिस गरेका हौं,’ थापाले भने ।