उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री
काठमाडौं - सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ । निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् । तर समस्या के छ भने निषेधाज्ञाको बेला कुनै एउटा परिवारले सरकारले दिएको सहुलियतको खाद्यान्न किन्न पर्यो भने चामल किन्न एकातिर, दाल, चिनी र ग्यास किन्न अर्कैतिर धाउनु पर्छ।
बिहीबार खाद्य र साल्ट ट्रेडिङले अलग–अलग घोषणा गरेको सहुलियत प्याकेज अनुसार चामल, दाल, पिठो, चिनी, नुन, तेल, र ग्यासलाई समेटिएको छ । तर चामल र दाल किन्न खाद्यको बिक्री केन्द्र थापाथली पुग्नु पर्छ भने नुन, तेल, पिठो र ग्यास किन्न साल्ट ट्रेडिङको बिक्री केन्द्र टेकु धाउनु पर्छ । जो दूरी र स्थानका हिसाबले फरक फरक ठाउँमा छन् ।
पाँच जनाको परिवारका लागि तोकिएको एक प्याकेजमा चामल ३० किलो, कर्णालीको सिमी दाल दुई किलो, पिठो दुई किलो, चिनी र नुन दुई–दुई किलो, तेल एक लिटर र एक सिलिण्डर ग्यासलाई मानिएको छ । सो प्याकेजमा भएको खाद्यान्न किन्न उपभोक्ता कहिले थापाथली त कहिले टेकु ओहोरदोहोर गर्नुपर्छ ।
साल्ट ट्रेडिङले सरकारले घोषणा गरेको २० प्रतिशत छुटअनुसार बजारमा ९५ रुपैयाँ किलो पर्ने चिनीको भाउ ६३ रुपैयाँ २० पैसा तोकिएको छ। यस्तै खाना पकाउने ग्यास (एसटीसी) को भाउ एक हजार एक सय २० रुपैयाँ कायम गरिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए । पिठो ४४ रुपैयाँ किलो, नून १६ रुपैयाँ किलो र भटमासको तेल १८८ रुपैयाँ लिटरमा बिक्री गरिने पनि उनले जानकारी दिए । छुटको खाद्यान्न तथा ग्यास कर्पाेरेसनको बिक्री केन्द्रबाट मात्रै खरिद गर्न सकिने र खाद्यान्न खरिद गर्न परिबारको कुनै एक सदस्यको नागरिकताको प्रतिलिपिमा परिवारको सदस्यको नाम र संख्या लेखेर बिक्री केन्द्रमा बुझाउनु पर्ने कर्पोरेसनले जनाएको छ ।
यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट २० प्रतिशत छुटमा ३० किलो चामल र दुई किलो कर्णालीको सीमी उपभोक्ताले खरिद गर्न पाउने छन् । काठमाडौं उपत्यकामा खाद्यका बिक्री केन्द्रहरु थापाथली, रामशाहपथ, नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकबाट खाद्यान्न खरिद गर्न सकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । उपत्यका बाहिर पनि निषेधाज्ञा लागू भएका जिल्लाका खाद्यका कम्पनीबाट यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।