कालो ढुसी के हो ? यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने
म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।
सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्याउनु आवश्यक छ ।
प्रारम्भिक लक्षणहरु के–के हुन् ?
- अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
- आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
- नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
- नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने
- बाक्लो सिँगान आउने
- आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने
- दाँत दुख्ने वा हल्लिने
- टाउको भारी हुने
- ज्वरो आउने
- अचेत हुने, बरबराउने हुन्छ
यसको उपचारका क्रममा स्लाइनबाट दिने औषधि १० देखि १४ दिनसम्म दिनुपर्ने हुन्छ । त्यसपछि पोसाकोनाजोल नामक खाने औषधि बिरामीको अवस्था हेरेर एकडेढ महिनाका लागि दिइन्छ ।कालो ढुसीको उपचारमा विशेषतः ‘एम्फोटेरिसिन बी’ इन्जेक्सन मार्फत औषधिको प्रयोग गरिन्छ । यो औषधि अनिवार्य हो । यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ । यसको संक्रमण विशेष गरी नाक, आँखा, साइन, मस्तिष्क लगायतको भागमा हुन्छ । आँखामा यसको संक्रमण गम्भीर भए नानी नै निकाल्नु पर्ने हुन्छ ।
यो कुनै नयाँ रोग होइन । तर यो एकदम दुर्लभ संक्रमण हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो रोग सरुवा होइन । तर यो संक्रमण निकै गम्भीर हुन्छ, संक्रमण बढ्दै जाँदा यो प्राणघातक पनि बन्न सक्छ ।
- यो रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका अनियन्त्रित मधुमेह, अंगप्रत्यारोपण गरिएका बिरामी र क्यान्सरको उपचार गराइ रहेका बिरामी
- कोभिड–१९ को उपचारको लागि अस्पतालमा भर्ना भएका र डिस्चार्ज भएका बिरामी
- कोभिड–१९ उपचारका क्रममा स्टेरोइड औषधि प्रयोग गरेका व्यक्तिहरु