नागरिक पोष्ट News


नेपालमा ब्ल्याक फंगस् (कालो ढुसी) देखिन थाल्यो : यस्ता हुन्छन् लक्षण र यसरी बच्नुहोस्

2.3K

काठमाडौं। कोरोनाभाइरस संक्रमित भएर निको भएकाहरुलाई प्रभावित पारिरहेको कालो ढुसी अर्थात म्युकरमाइकोसिस नेपालमा पनि देखिन थालेको छ । नेपालमा पनि पछिल्लो समय केही बिरामीहरुमा म्युकरमाइकोसिस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले जारी गरेको जानकारी अनुसार कोभिड–१९ को उपचारको क्रममा स्टेरोइड प्रयोग गरेका बिरामीहरु, चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिहरुको जथाभावी प्रयोग गर्नेहरु र मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु म्युकरमाइकोसिसबाट संक्रमित हुने उच्च जोखिममा हुन्छन् ।

यो ढुसीको संक्रमण भएमा अनुहार, नाक, मुख, आँखा वरिपरी दुख्ने, ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, आँखाको ढकनी सुन्निे र ढकनी झुक्ने तथा आँखाले धमिलो देख्ने, नाकको वरिपरीको छालाको रंग कालो हुँदै जाने, रगत बग्ने, बाँक्लो सिंगान आउने, दाँत दुख्ने वा हल्लिने जस्ता लक्षण देखिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले यो संक्रमणबाट जोगिनका लागि केही सावधानीका उपाय अपनाउन पनि सुझाव दिएको छ । सफा र सुख्खा मास्क प्रयोग गर्न, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्न,नियमित रुपमा हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ ।

यस्तै मन्त्रालयले व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरबाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्न, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान, नुनिलो पानीले नाक सफा गर्न, पोभिडोल आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्न, मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्न र स्वास्थ्यकमीृको सल्लाहमा मात्र औषधि प्रयोग गर्न सुझाव दिएको छ ।

मन्त्रालयले यो कालो ढुसी अर्थात म्युकर माइकोसिस कोरोनाजस्तो एक मानिसबाट अर्को मानिसमा नसर्ने समेत प्रस्ट पारेको छ ।

Must View