खोप नलगाएका बढि कोरोनाका गम्भिर बिरामी : सबैले खोप लगाए तेस्रो लहर नआउन सक्छ - डा.शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भ्याक्सिन र जनस्वास्थ्यका मापदण्ड सवैले पालना गरे तेस्रो लहर आउने सम्भावना कम भएको बताउनुभयो । तेस्रो लहर सम्म धेरैले भ्याक्सिन लगाउने अवस्था भएमा अहिलेको जस्तो माहामारीको अवस्था नआउने उहाँको आंकलन छ ।
सवैले घरमा बस्दा पनि सामाजिक दूरी कायम गरि अनिवार्य मास्क लगाउनु पर्नेमा उहाँको सुझाव छ । भारतमा विकसित भएको भेरियन्ट पहिलो भन्दा अलि सर्ने सक्ने क्षमता भएको र घातक पनि रहेको पाइएको उहाँ बताउनुहुन्छ ।
खोप नलगाएका बढि कोरोनाका गम्भिर बिरामी
कोरोना विरुद्वको खोप लगाएका भन्दा खोप नलगाएका बढि विरामी गम्भिर अवस्थामा रहेको पाइएको उहाँले बताउनुभयो । टेकु अस्पतालमा ९० प्रतिशत गम्भिर विरामी खोप नलगाएका पाइएको समेत डा. पुनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण देखा परे पनि उहाँहरुलाई धेरै समस्या नभएको उहाँले बताउनुभयो। पहिलो चरणको संक्रमणमा बढि उमेरका मानिसलाई कोरोना संक्रमण बढि देखिने र मृत्यु दर पनि बढि थियो तर अहिलेको संक्रमणमा बढि उमेरकालाई संक्रमण कम देखिनु प्रमुख कारण कोरोनाको भ्याक्सिन लगाएको कारण भएको आफनो अनुमान रहेको डा. पुन बताउनुहुन्छ । खोप लगाएका मानिसमा ठुलो समस्या देखा परेको पाइएन कोरोना नियन्त्रण लागि खोप पहिलो कुरा भएको उहाँ बताउनुहुन्छ ।
- Gorkhapatraonline.com