‘रक्तदान जीवन दान’ भन्ने नारालाई अनुसरण गर्दै ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१ ’ सञ्चालन
काठमाडौं । सामाजिक अभियान्ता श्वेता श्रेष्ठले कोरोना भाईरस कोभिड १९ ले नेपालमा धरै प्रभाव पारेकाले अस्पतालहरुमा रगतको अभाव हुन नदिन ‘रक्तदान जीवन दान’ भन्ने नारालाई अनुसरण गर्दै ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१ ’ सञ्चालन गरेकी छिन्।
सामाजिक अभियान्ता श्रेष्ठले नेपाल रेडक्रस सोसाईटी पशुपति बौद्ध चाबहिल उपशाखाको सहकार्य र नेपाल रेडक्रस रक्तसंचार केन्द्रीय कार्यलयका प्राविधिक सहयोगमा आफुले रगत अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्दै अभियान संचालन गरेको जानकारी दिईन् ।
कोभिड १९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेको बताउँदै उनले कोरोनाले सृजित विषमताका बेला गरिएको रक्तदानको कयौं गुणा महत्व रहेको बताईन् । दैनिक जस्तो रगत अभावको खबर आइरहेको स्मरण गर्दै उनले आफुले चलाएको रक्तदान अभियानले रगत अभाव टार्न केही सहयोग हुने विश्वास समेत व्यक्त गरिन्।
२०२१ को सुरुवाती चरणदेखि अभियान संचालन गर्दै आएकी श्रेष्ठले वर्षभरीमा दुई हजार रगत संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताईन् । उनले आफ्नो स्वास्थ्यलाई हानी पनि नहुने र अरुको ज्यानै बच्ने हुँदा सबैले रक्तदान गरेर सहयोग गर्न आग्रह पनि गरेकी छिन् । शनिबारको कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए । त्यस्तै, हालसम्म ३४ वटा क्याम्पेनबाट ५ सय ९ युनिट रगत संकलन भएको उनले बताईन् ।