नागरिक पोष्ट News


नेपाल अफ्रिका फिल्म फेस्टिबलमा आमा, सहायक श्रीमान् र दुर्गामाण्डु उत्कृष्ट

1.5K

शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा जारी नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट समापन भएको छ ।

महोत्सबमा यो वर्ष बृत्तचित्रतर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान्’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । यो बृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा केन्द्रित थियो ।

यस्तै महोत्सबमा कथानक चलचित्र तर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । आमा बृद्धा आमा बुबालाई बृद्धाश्रममा राख्नेहरूको कथामा यो चलचित्र आधारित थियो ।

यस्तै यो वर्ष डक्युड्रामातर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित बृत्तचलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो बृत्त चलचित्रमा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्यामा आधारित थियो ।

यी तीन वटै उत्कृष्ट चलचित्रलाई जनही पाँच हजार रुपैयाँसहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्वारा आयोजित नवौं संस्करणको महोत्सब समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । यो महोत्सबले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठूलो सहयोग पुर्‍याएको उनले बताए ।

चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुरस्कार प्रदान गर्दै नेपाली भन्दा अफ्रिकन फिल्महरू धेरै माथि भएकाले हामीले उनीहरूको फिल्मबाट धेरै सिक्ने अबसर पाएको बताए ।

आईतबार नै महोत्सबमा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस भएको थियो । सो बहसमा राजेश थापाले नेपाली चलचित्रको बिगतदेखि अहिलेसम्मको अबस्था चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै अर्का निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली चलचित्र र नेपाली चलचित्रका समस्याबारे कार्यपत्र प्रस्तुत गरे । सो अन्तरक्रियामा गणेश खनियाँले अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

महोत्सबबाट आफुहरूले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी अध्यक्ष डा. मञ्जु मिश्रले समापन समारोहमा बताईन् ।

महोत्सब निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारीबीच पनि सामाजिक दुरी कायम गरेर आफुहरू महोत्सब सम्पन्न गर्न सफल भएको बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार उद्घाटन गरेको यो महोत्सबमा नेपालमा सात वटा र अफ्रिकामा आठ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।

 

Must View