नागरिक पोष्ट News


मित्रदेवी कोइराला स्मृती प्रतिष्ठानको स्थापना

1.3K

काठमाडौँ : अस्ट्रेलियास्थित नेपाली दूतावासमा तृतीय सचिवको रूपमा कार्यरत यादव कोइरालाले सेवा निवृत्तपछि पूर्णरूपमा समाज सेवामा लाग्ने बताएका छन् । सेवा निवृत्त हुनु भन्दा दुई वर्ष अगावै उनले मित्रदेवी कोइराला स्मृती प्रतिष्ठान स्थापना गरेका छन् । स्वर्गीय पिता देविप्रसाद र माता मित्रकुमारी कोइरालाको नाममा स्थापित प्रतिष्ठानमार्फत समाजसेवामा लाग्‍ने बताएका छन् । प्रतिष्ठानमा आफ्नो केही रकम र अन्य सहयोग लिएर समाज सेवा गर्ने उनको भनाइ छ । 

उक्त मुनाफा वितरण नगर्ने संस्थाका लागि आफ्नो तर्फबाट दशलाखको अक्षयकोष खडा गरेको उनले जानकारी दिए । अहिले पनि कूटनीतिक सेवामा रहेर आफ्ना नागरिकको हितमा काम गरिरहेको बताउँदै उनले भने, ‘ग्रामिण क्षेत्रका जेष्ठ नागरिक, असाहय, असक्त, बालबालिका, महिलालगायतलाई शिक्षित बनाउने र पेशागत सिप तालिम प्रशिक्षण दिने जस्ता कार्य गर्नेछु ।’ 

जेष्ठ नागरिकका लागि यही प्रतिष्ठानले बृद्धाश्रम स्थापना गर्ने, अन्य सामाजिक कार्यहरूमा संलग्न हुनेलगायत दर्जन भन्दा बढी उद्देश्य लिएर अघि बढेको उक्त संस्थामा उनले आफ्ना दाइ र भाइसहित अन्य दुईलाई संलग्न गराएका छन् । त्यसबाहेक अन्य सञ्चालक पनि पछि थप्दै लैजाने र विकासको क्षेत्रमा काम गर्ने उनले स्पष्ट पारे ।

यही कार्यको लागि क्यानबेराबाट काठमार्डौ आएका उनी सबै दर्ता प्रक्रिया र कार्यालय स्थापना जस्ता कार्यहरू अघि बढाएर फर्किएका छन् । शहरमा भन्दा पनि विशेष गरी आफ्नो गाउँ र दुरदराजमा रहेका नेपालीको हितमा काम गर्ने लक्ष्य संस्थाले लिएको उनले स्पष्ट पारे ।

Must View