नागरिक पोष्ट News


कोरोना संक्रमण दर ५ प्रतिशत नाघे अनियन्त्रित हुन्छ - डा. प्रबीण श्रेष्ठ

1.6K

विश्वमा कोरोना संक्रमण शुरू भएको करीब डेढ वर्ष भइसकेको छ र यसको आतंक हाल पनि जारी छ । यस वर्षको अप्रिल पहिलो हप्तासम्म विश्वमा १३ करोडभन्दा धेरैलाई कोरोना संक्रमण भइसकेको छ भने साढे २९ लाखभन्दा धेरैले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

यस दौरान विश्वमा कोरोना प्यान्डेमिकको कैयौं लहर आइसकेका छन्, अझै कैयौं लहर आउन बाँकी छ होला । यसका लहरहरू विश्वका सबै ठाउँमा एकैनासका या समान छैनन् । ठाउँ र भौगोलिक अवस्था हेरी कतै दोस्रो, कतै तेस्रो त कतै चौथो लहर आइसकेको छ ।

अहिले विश्वमा प्यान्डेमिकको तेस्रो लहर छ भनिए पनि यो वास्तवमा कतिऔं लहर हो यकिन साथ भन्न गाह्रो छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकले कोरोनाको वर्तमान लहरलाई चौथो जस्तो देखाउँछ । पहिलो लहर २०२० मार्च–अप्रिलतिर आएको थियो । त्यो बेला विश्वभर दैनिक करीब ९० हजार मानिस संक्रमित भएका थिए ।

दोस्रो लहर जुलाई–अगस्ततिर शुरू भई दैनिक करीब २५ हजार नयाँ संक्रमित देखा परे । नोभेम्बरतिर शुरू भएको तेस्रो लहर डिसेम्बर–जनवरीतिर ‘पिक’ मा पुग्यो । त्यो बेला दैनिक संक्रमण ८० हजार धेरै पुगेको थियो । फेब्रुअरीतिर तेस्रो लहर ओरालो लागी दैनिक नयाँ संक्रमणको संख्या झन्डै आधा जतिमा सीमित भइसकेकोमा गएको महिना अर्थात् मार्चदेखि चौथो लहर शुरू भएको छ ।

तथ्यांकहरूका अनुसार पहिलोभन्दा दोस्रो लहर करीब तीन गुणा र दोस्रोभन्दा तेस्रो लहर करीब तीन गुणा ठूलो थियो । यसैगरी चौथो लहर बढ्दै गयो भने निश्चय पनि तेस्रोभन्दा तीन गुणा ठूलो नभए पनि पक्कै पनि ठूलो चाहिं हुन्छ । त्यसपछि विश्व र सम्पूर्ण मानव जातिको अवस्था के होला हाम्रो कल्पनाभन्दा बाहिर हुन सक्दछ । सिंगो विश्वले जान्नु र बुझ्नुपर्ने कुरा यही हो ।

विश्वमा प्यान्डेमिक बढ्नुमा अमेरिकाज (उत्तर, सेन्ट्रल तथा दक्षिण अमेरिका) को सबैभन्दा ठूलो योगदान रह्यो । विश्वको प्यान्डेमिक लहर अमेरिकाजको प्यान्डेमिक लहरको आकारसँग मिल्दो जुल्दो छ । युरोपमा प्यान्डेमिकको आकार निकै फरक छ । युरोपमा गत वर्ष जनवरी अन्त्यमा पहिलो कोरोना संक्रमण देखा परेको दुई महिनापछि प्यान्डेमिक उच्च बिन्दुमा पुग्यो । त्यो बेला दैनिक ३० हजारदेखि ४० हजारसम्म नयाँ संक्रमण देखा परे । त्यसपछि दैनिक संक्रमण केही घटेर अगस्ट अन्त्यसम्म स्थिर रहेकोमा एक्कासी दैनिक रूपमा ठुलो वृद्धि भई पहिलो लहर भन्दा ७–८ गुणा धेरै संक्रमण देखिन थाले । केही तल–माथि भए पनि हालसम्म यही क्रम निरन्तर छ युरोपमा ।

अफ्रिकामा प्यान्डेमिकको शुरुआती अवस्थामा संक्रमण संख्या न्यून रहे पनि गत वर्ष जून–जुलाईतिर पहिलो लहर देखा परेको थियो । त्यो बेला दैनिक संक्रमण २० हजारभन्दा कम थियो । डिसेम्बर र यसै वर्ष जनवरीतिर दोस्रो लहर देखा पर्दा संक्रमण दर पहिलोभन्दा करीब डेढ गुणा बढी देखियो । अफ्रिकामा पहिलो र दोस्रो लहरबीचमा दैनिक संक्रमण चारहजार जति पुगेको थियो । हाल त्यहाँ संक्रमणमा कमी आए पनि पहिलाको भन्दा धेरै अर्थात् दैनिक ८–१० हजार छ ।

दक्षिण एशियामा भने अहिले कोरोना प्यान्डेमिकको दोस्रो लहर छ । यस क्षेत्रमा देशैपिच्छे प्यान्डेमिकका लहरहरू फरक फरक भए तापनि समग्रमा वर्तमान दोस्रो लहर यसै वर्ष मार्चमा भएको देखिन्छ । त्यो बेला दैनिक करीब २० हजारदेखि २५ हजारसम्म नयाँ संक्रमण देखिन्थे ।

दक्षिण एशियामा गत वर्षको अप्रिल–मेबाट बढ्न थालेको प्यान्डेमिक सेप्टेम्बरसम्म दैनिक करीब ९० हजार पुगेको थियो । तत्पश्चात् घट्दै जाने क्रममा यसै वर्ष फेब्रुअरीतिर दैनिक संक्रमण दर २० हजारदेखि २५ हजारसम्म रहेकोमा दोस्रो लहर निरन्तर लम्बिइरहेको छ ।

पछिल्लो समय दक्षिण एशियामा दैनिक करीब १० हजार नयाँ संक्रमण देखापरिरहेको छ, जुन पहिलो लहरभन्दा ठूलो हो । यही गतिमा नयाँ संक्रमण देखिए यस क्षेत्रमा पहिलोभन्दा दोस्रो लहर निकै ठूलो हुने निश्चित छ ।

दक्षिण एशियामा प्यान्डेमिकको भार बढ्नुमा सबैभन्दा ठूलो योगदान भारतको रह्यो । दक्षिण एशियाभरको प्यान्डेमिक लहर भारतकोसँग मिल्दोजुल्दो छ । यो क्षेत्रमा अप्रिल ५ सम्म कुल १४ लाख ४७ हजार ५३० जना संक्रमित भइसकेका छन् भने एकलाख ९५ हजार ९१३ जनाले ज्यान गुमाइसकेका छन् (हे. चित्र–१) ।

त्यस्तै, चित्र–२ मा दक्षिण एशियाली देशहरूको २०२१ एप्रिल ५, सम्मको जम्मा कोरोना मृत्यु अनुपात देखाइएको छ । जसअनुसार मृत्यु पनि भारतमा सबैभन्दा अधिक ८५ प्रतिशत देखिन्छ । संक्रमण र मृत्यु दुवैको हिसाबले नेपाल दक्षिण एशियामा चौथो स्थानमा छ । हालसम्म ८९१ जनामा मात्र कोरोना संक्रमण देखा परेको भूटानमा एक मात्र मृत्यु भएको छ ।

भारतमा कोरोना प्यान्डेमिकको पहिलो लहर गत वर्ष सेप्टेम्बर मध्यतिर ‘पिक’ मा पुग्दा दैनिक नयाँ संक्रमण करीब ९७ हजार जति थियो । अहिले दैनिक संक्रमण एक लाखभन्दा धेरै पुगिसकेको छ ।

त्यस्तै, बंगलादेशमा कोरोना प्यान्डेमिकको पहिलो लहर गत वर्ष जूनको अन्त्यतिर उच्च बिन्दुमा पुग्दा दैनिक नयाँ संक्रमण करीब ३ हजार ७०० जति थियो, अहिले दोस्रो लहरमा दैनिक ७ हजार भन्दा धेरै नयाँ संक्रमण देखिन थालेको छ ।

त्यस्तै, पाकिस्तानमा गत वर्ष जूनको मध्यतिर प्यान्डेमिक उच्च हुँदा दैनिक करीब ६८ हजार नयाँ संक्रमण देखिन्थे भने अगस्टको अन्त्यमा पहिलो लहर निकै न्यून हुँदा दैनिक दुई–तीन सय नयाँ संक्रमण देखिएका थिए । अक्टोबरको अन्त्यतिर दोस्रो लहर शुरू भई डिसेम्बरको अन्त्यमा उच्च बिन्दुमा पुग्दा दैनिक झन्डै ३ हजार ८०० नयाँ संक्रमित देखिए । पाकिस्तानमा हाल तेस्रो लहर शुरु हुँदा दोस्रो लहरभन्दा माथि दैनिक ४ हजारभन्दा धेरै नयाँ संक्रमित देखिन थालेको छ ।

श्रीलंका र माल्दिभ्समा हालसम्म प्यान्डेमिक लहरको निश्चित आकार नभए पनि दैनिक संक्रमण तल–माथि हुँदै पछिल्लो समयमा संक्रमण दर बढ्दै गएको छ । भूटानमा पनि पछिल्लो समयमा दैनिक जसो नयाँ संक्रमण देखा परिरहेको छ । अप्रिल १ मा एकैदिन १३ नयाँ संक्रमित देखा परेका थिए ।

नेपालमा कोरोना प्यान्डेमिकको पहिलो लहर गत वर्ष अक्टोबरको तेस्रो हप्तामा उच्च बिन्दुमा पुग्दा दैनिक नयाँ संक्रमण करीब ५ हजार ७०० जति देखिएकोमा अहिले दोस्रो लहरमा दैनिक २५० जति देखिएको छ । यो बढ्दो क्रममा छ ।

Must View