नेपालमा अब लकडाउन नहुने - स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताउनु भएको हो । उनले लकडाउन भन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए ।
लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनले बताए ।
मन्त्री त्रिपाठीले भने, ‘हामी यो चाहँदैनौं कि नेपाल फेरीपनि लकडाउनको अवस्थामा जाओस । लकडाउन भन्दा अगाडी जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले कम हुने त एकातिर छदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दिर्घकालिन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाई लडिरहेको छ हामी पनि एउटा यो लडाईमा योद्दा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाई गर्न तयार छ ।’
छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।