परीक्षण सफल भएपछि शुक्रवारदेखि मेलम्चीको ८ करोड लिटर पानी उपत्यकावासीको धारामा वितरण
काठमाडौं, २१ चैत । परीक्षण सफल भएपछि शुक्रवारदेखि मेलम्चीको ८ करोड लिटर पानी उपत्यकावासीको धारामा वितरण हुन थालेको छ । यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार चार करोड लिटर पानी हालेर परीक्षण शुरु गरिएको थियो ।
पानी वितरण गर्न उपत्यकामा ९ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी हाल निर्माण भइरहेको छ ।
गत फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ अम्बाथानस्थित सुरुङबाट हालिएको पानी २६.५ किमी दूरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो । पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी हालेर परीक्षण गरिएको थियो ।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले शुक्रवारदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको हो । केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले बताएको छ ।