छिमेकी मुलुक चीनसँग आयात–निर्यात सहज नहुँदा रसुवा भन्सारको राजस्व संकलन प्रभावित
काठमाडौं, १६ चैत । छिमेकी मुलुक चीनसँग आयात–निर्यात सहज नहुँदा रसुवा भन्सारको राजस्व संकलन प्रभावित भएको छ । हाल सो नाकाबाट आंशिक रूपमा आयात मात्र भएको छ भने निर्यात एक वर्षदेखि ठप्प छ ।
चालू आर्थिक वर्षको ८ महिनामा रसुवा भन्सार कार्यालयले वार्षिक लक्ष्यको १८.५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा उक्त भन्सार कार्यालयले ११ अर्ब ३३ करोड ७५ लाख राजस्व संकलनको लक्ष्य पाएको छ ।
भन्सारको राजस्व संकलन अपेक्षित रूपमा नहुनुमा नाकाबाट न्यून मात्रामा मात्र वस्तु आयात भएको र आयातित सामग्री पनि भन्सार छुट हुने खालका रहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
कोरोना महामारी शुरु हुनु अघिसम्म दैनिक १ सय वटाभन्दा बढी कन्टेनर वस्तु चीनबाट आउने गरेकोमा हाल दैनिक सातवटा मात्र आउने गरेका छन् । कोभिडका कारण लामो समय बन्द रहेको रसुवागढी नाका जेठ अन्तिमबाट आयात सुचारु भए पनि आयात बढ्न सकेको छैन ।