भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा रोक लगाउने निर्णय गरेको छ
काठमाडौं । भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा रोक लगाउने निर्णय गरेको छ । सेरम इन्स्ट्यिुटले उत्पादन गरेको एस्ट्राजेनेका खोप निर्यातमा रोक लगाउँदा नेपालको खोप अभियान समेत प्रभावित हुने देखिएको छ ।नेपाल सरकारले सेरम इन्स्ट्यिुटसँग २० लाख डोज खोप खरिदका लागि यसअघि नै भुक्तानी र सम्झौता गरिसकेको थियो ।खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज मात्रै नेपाल भित्रिएका थिए ।
सम्झौता अनुसार बाँकी १० लाख पनि आइसक्नु पर्ने समय भइसकेको छ । तर, पनि १० लाख डोज नेपाल आइपुगेको छैन ।
अहिले भारत सरकारले खोप निर्यातमै रोक लगाउँदा खरिद गरेकै १० लाख डोज भित्रिन ढिलाइ हुने देखिएको हो । यसो हुँदा नेपालको खोप अभियान नै प्रभावित हुनेछ ।
भारतमा हिजो मात्रै ५० हजार थप नयाँ सङ्क्रमित थपिएका छन् । यो पछिल्ला ५ महिना यताकै उच्च सङ्क्रमण हो ।सङ्क्रमण बढ्दै जाँदा देशलाई प्राथमिकतामा राख्दै भारतले खोप निर्यातमा रोक लगाएको हो ।
नेपाल बाहेक सेरम इन्स्ट्यिुटले ब्राजिल, ब्रिटेन, मोरक्को र साउदी अरेबियाको खोप निर्यातमा पनि ढिलाइ गरेको छ ।
खोप चाँडै आउँछ
नेपालसँग अहिले करिब ६ लाख डोज खोप मात्रै भण्डारमा छ भने, पहिलो र दोस्रो खोप अभियानमा गरी करिब १७ लाख ५८ हजारले खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारले खरिद गरिएको खोप चाँडै नै नेपाल भित्रिने बताएका छन् । ‘नयाँ निर्णय (निर्यात रोक)पछि भारतीय पक्षसँग छलफल भएको छैन, सम्झौता अनुसार खोप (१० लाख डोज) आइपुग्नु पर्ने हो,’ उनले भने ।
नेपालमा पहिलो खोप अभियानमा करिब ४ लाख २९ हजारले खोप लगाएका थिए । वैशाख ७ गतेदेखि उनीहरूलाई दोस्रो डोज लगाइने भएको छ ।
सरकारसँग भएको ६ लाख डोज खोप दोस्रो डोजका रूपमा लगाइने भएको हो । केही खोप खेर पनि जाँदा यो खोप उनीहरूलाई मात्रै पुग्ने देखिन्छ ।
कुल खोप लगाउने १७ लाख ५८ हजारमध्ये बाँकी दोस्रो डोज लगाउन बाँकी रहनेहरूका लागि अहिले देशमा खोप भित्रिएको छैन, भने कहिले भित्रिने पनि टुङ्गो पनि छैन ।
‘भारतमा नै उत्पादन कम, अत्यधिक मागका कारण उनीहरूलाई नै समस्या छन्, तर दोस्रो डोज लगाउन हाम्रो अत्यावश्यकता भएका कारण यताबाट छलफल गरेर खोप भित्रिन्छ,’ सह प्रवक्ता डा. अधिकारीले भने ।
कोभ्याक्स सुविधा पनि प्रभावित हुनसक्छ
भारतले खोप निर्यातमा रोक लगाउँदा कोभ्याक्स सुविधा अन्तर्गतको खोप अभियान पनि प्रभावित हुनसक्ने देखिन्छ ।
कोभ्याक्स सुविधाबाट १ करोड ३० लाख खोप नेपाल आउने प्रतिबद्धता छ । तर, हालसम्म ३ लाख ४८ हजार डोज मात्रै नेपाल भित्रिएको छ ।
कोभ्याक्स सुविधाको खोप नेपाल भित्रिएमा दोस्रो अभियानमा खोप लगाएकाहरूलाई दोस्रो डोज लगाउने अवस्था बन्ने देखिन्छ ।तर, कोभ्याक्स सुविधा पनि प्रभावित भए नेपाललाई झनै कठिनाइ हुनेछ ।
खोप आपूर्तिका लागि अनुरोध
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नै खोप आपूर्तिका लागि पहल भइरहे पनि आपूर्तिका लागि अनुरोध परराष्ट्र मन्त्रालयले पनि गरेको छ ।
खरिदपछि आपूर्ति नभएको बाँकी १० लाख डोज खोप आपूर्तिका लागि भारतसँग अनुरोध गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन् ।