नागरिक पोष्ट News


छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः तीव्र रूपमा बढ्दै

1K

वीरगञ्ज, ११ चैत । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः तीव्र रूपमा बढ्दै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ ।

प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।

सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले आठवटै जिल्लामा रहेका कोभिड संकट व्यवस्थापन समिति तथा स्थानीय निकायसँग समन्वय गरी हेल्थ डेस्क राख्ने निर्देशन दिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका युनिटले आवश्यकतानुसार आठवटै जिल्लामा फोरवार्ड अपरेटिङ बेस खडा गरी सीमा नाकामा हेल्थ डेस्क राखेर काम गर्न निर्देशन दिएको उनले बताए ।

यसैबीच पछिल्लो केही दिनयता पर्सा जिल्लामा पुनः कोरोना संक्रमित फेला पर्न थालेकाले कोभिड संकट व्यवस्थापन समिति पर्साले बैठक बसी सीमा नाकामा कडाइ गर्ने, सशस्त्र र नेपाल प्रहरीलाई कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखी मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ ।

Must View