नागरिक पोष्ट News


कोरोनाको दोस्रो लहरको संकेत,सतर्क बन्न विज्ञको आग्रह

1.1K

११चैत, काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ— युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन त्यसो त गएको १ वर्षयता महामारी नियन्त्रणमा खटिएका अन्य चिकित्सकजस्तै उनले आराम गर्न पाएका छैनन् । टेकु अस्पतालमा २०७६ चैत दोस्रो हप्ता कोरोना भाइरसको दोस्रो केस भेटिएयता आजसम्म शून्य संक्रमित भएर वार्ड खाली भएको छैन ।पछिल्लो १० दिनयता कोरोना महामारीको शुरुवाती चरणमा जस्तै तनाव थपिएको डा। राजभण्डारी बताउँछन् । ‘संक्रमण भेटिइरहेको बेला सरकारले महामारी नियन्त्रणको अभ्यास गर्न चटक्कै छाड्नु हुदैनथ्यो’  उनी भन्छन्, ‘नागरिकलाई पनि लापरवाही गर्ने छुट थिएन ।’

पछिल्लो १० दिनयता संक्रमणको दर निरन्तर बढिरहेको छ । मंगलबार ४ हजार ३२ जनाको परीक्षण गर्दा १ सय ८८ जनामा र सोमबार ४ हजार ४ सय ७२ जनाको परीक्षण गर्दा १ सय ५५ जनामा संक्रमण देखिएको छ ।

महामारी नियन्त्रणमा नआउँदै सरकार र नागरिकले लापरवाही गरेकाले यो अवस्था आएको बताउने डा। राजभण्डारी फेरि पहिलेको संयत्र र व्यवहार पुनस् सक्रिय गराउनुपर्ने बताउँछन् । नेपालमा जिन सिक्विन्सिङ गर्ने प्रविधि नभएर पछिल्लो समय भेटिएको संक्रमण कुन भेरियण्टको हो भन्ने पुष्टी हुन सकेको छैन । तर राजभण्डारी नयाँ भेरियण्टको कोरोना भाइरस फैलिइसकेको आशंका गर्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (इडिसिडी) यसअघि ३ जनामा नयाँ भेरियण्ट भेटिइसकेको पुष्टी गरेकाले उनको दाबीमा सत्यता रहेकोमा अधिकांश जनस्वास्थ्यविज्ञ सहमत छन् । किनकि पछिल्लो समय भेटिएका धेरै संक्रमितमा ‘एस जिन’ देखिएको छैन । एस जिन नदेखिएको भाइरसमा नयाँ भेरियन्टको भाइरस छ कि भनेर आशंका गर्न सकिने इडिसिडीका निर्देशक डा। कृष्ण पौडेल बताउँछन् ।

डा। राजभण्डारीका अनुसार नेपालमा अहिले बढेको संक्रमण युरोपेली देशमाझै कोरोनाको दोस्रोर तेस्रो लहरको संकेत हो । भलै यो विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधिकारिक घोषणा गरेको छैन । तर अधिकांश जनस्वास्थ्य विज्ञ कोरोनाको दोस्रो लहर आएकामा सहमत छन् ।

‘हामीले जे गर्नुपर्ने थियो गरेनौं, अब विगतबाट पाठ सिक्नुपर्छ ‘ निर्देशक राजभण्डारी आफ्नो अनुभव सुनाउँछन् ।

पटक पटक फैलिने र विश्वका धेरै भूगोललाई सताउने ‘पान्डेमिक’को चरित्र भएकाले यस्तो समयमा विश्वको अरु देशको अवस्था हेरेर कदम चाल्नुपर्ने जनस्वास्थ्यविद डा। शरद वन्त बताउँछन् । उनका अनुसार अन्य देशमा महामारीको दोस्रोरतेस्रो लहर फैलिएको बेलामा ‘हामी अपवाद हुन्छौं’ भन्ने सोच नै गलत हुन्छ ।

अझ समुदायमै संक्रमण भइरहेको बेला राज्यले आफ्नो गतिविधि बढाउने र नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प हुन्न ।  पछिल्लो समय राज्य र नागरिक दुबैको तर्फबाट गल्ती भएको उनको तर्क छ ।’जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा जोड दिनुपर्छ भन्दा कसैले वास्ता गरेनन्, विज्ञानलाई नसुन्नु नै गल्ती भयो’ डा। वन्त भन्छन्, ‘हाम्रो मुर्खताको परिणाम घातक हुन्छ भन्ने सोचेको भए हामी अहिले अर्कै अवस्थामा हुने थियौं ।’

फेरि परीक्षणको दायरा बढाउने, क्वारेण्टिन व्यवस्थित बनाउने, कन्ट्याक्ट ट्रेसिङ चुस्त बनाउनुपर्ने डा। वन्त बताउँछन् । अब महामारीविरुद्ध लड्ने सबै संरचना र व्यवहारलाई  पुनर्जागृत गराउन उनको सुझाव छ ।

 

Must View