नागरिक पोष्ट News


कवि निर्मला कोइरालाको कृति ‘मिलन–बिन्दु’ को लोकार्पण

1.1K

पाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कवि निर्मला कोइरालाको खण्डकाव्य ‘मिलन–बिन्दु’ को आज काठमाडौंमा आयोजित एक समारोहबिच लोकार्पण गर्नुभयो । प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले कृतिमाथि चर्चा गर्दै कवि कोइरालाको उक्त कृतिले सामाजिक विभेदलाई न्यून तुल्याउने सन्देश दिएको उल्लेख गर्नुभयो ।

समारोहका सभापति एवं प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले ‘मिलनबिन्दु’ खण्डकाव्य स्तरीय भएकै कारण प्रतिभा पुरस्कार प्रतिष्ठानले प्रकाशन गरेको बताउनुभयो । सो समारोहमा समालोचक डा. कुमारप्रसाद कोइराला र ज्ञानु अधिकारीले समाज रूपान्तरणको सचेतना बोकेको कृतिका रूपमा ‘मिलन बिन्दु’ को विवेचना गर्नुभयो भने कवि प्रल्हाद पोखरेल र रेणुका सोलुले कवि कोइरालाको लेखन शिल्पको विशिष्टताबारे चर्चा गर्नुभयो ।

उक्त समारोहमा नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीले कृतिकार निर्मला कोइराला सर्जक मात्र नभएर कुशल साहित्यिक संगठनकर्ता समेत तथ्यलाई औंल्याउनुभयो भने सांसद जीवन परियारले आगामी दिनमा पनि यस्ता कृति पढ्न पाइयोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा नेपाल शिक्षक संघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष एमपी भुसालले ‘मिलनबिन्दु’ नेपाली समाजलाई अग्रगामी दिशामा डोर्‍याउन सफल कृति बन्‍नसक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

स्वागत मन्तव्य प्रकट गर्ने क्रममा साहित्यकार विवश पोखरेलले विराटनगरको प्रतिभा पुरस्कार प्रतिष्ठानले हरेक वर्ष झन्डै एक दर्जन पुरस्कारहरू प्रदान गर्ने गरेको तथ्यलाई स्मरण गर्नुभएको थियो । कृतिकार निर्मला कोइरालाले पश्‍चिम रुकुममा हालै घटेको दुःखद् घटनाले आफूलाई धेरै दिनसम्म छोइरहेका कारण यही पृष्ठभूमिमा काव्य तयार पारेको बताउनुभयो ।

Must View