नागरिक पोष्ट News


हानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत तारकेश्वर नगरपालिकालाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

1.5K

५ चैत, काठमाडौं। काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत तारकेश्वर नगरपालिकालाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत बुधबार उपत्यकाका पाँच ओटा नगरपालिकालाई धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । दुई ओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने योजनामा रहेको काठमाडौं महानगरपालिकाले बताएको छ ।

कार्यक्रमपछि महानगरपालिकाले तारकेश्वर नगरपालिका सहितको पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको थियो।

काठमाडौँ महानगरपालिकाले आ.व. २०७७÷०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, तारकेश्वर, किर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए महानगरपालिकाले तारकेश्वर नगरपालिकामा रहेको तारकेश्वर धाम निर्माणका लागि पनि एक करोड आर्थिक सहयोग गरेको थियो ।

सम्झौता अनुसार दक्षिणकाली नगरपालिका क्षेत्र भित्र रहेको वडा–५ गोरखनाथ डाँडामा अवस्थित बहुउद्देश्यीय उद्यान निर्माणका लागि थप एक करोड रकम हस्तान्तरण गरिएको छ । यस अघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले एक करोड सहयोग गरेको थियो । त्यसैगरी ताराकेश्वर नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा–५ को भ्युटावर र वडा–२ को तारकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि जम्मा एक करोड सहयोग प्रदान गरेको छ । तारकेश्वर नगरपालिकाको धार्मिक र पर्यटकीय पार्क निर्माण गर्ने र नगरमा पर्यटन प्रर्र्वद्धन र धार्मिक सम्पदाको संरक्षणमा महत्वपूर्ण मद्दत पुग्ने तारकेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले बताउनुभयो ।

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्र भित्र रहेको वडा–१ मा अवस्थित प्रशिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरीको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि एक करोड नै सहयोग गरेको छ । यस अघि पनि सो नगरपालिकालाई एक करोड सहयोग गरेको थियो । त्यसैगरी किर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माणका लागि पनि आजै सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाडौँ महानगरपालिकाले एक करोड प्रदान गरेको छ ।

 

उक्त नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १, २ र १० लाई समेटी त्यहाँ करीब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भइरहेको छ । त्यस्तै मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क निर्माणका लागि पनि आजै काठमाडौँ महानगरपालिकाले थप एक करोड सहयोग गरेको छ । यस अघि पनि महागनरपालिकाले सो उद्यान निर्माणका लागि एक करोड सहयोग गरेको थियो । त्यहाँ पनि करीब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ ।

भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि एक करोड नै दिने भएको छ । आज सो नगरपालिकाका प्रमुख उपत्यका बाहिर रहेकाले छिट्टै सो सम्झौतामा पनि हस्ताक्षर गर्ने प्रमुख शाक्यले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले चन्द्रागिरी नगरपालिकालाई पनि मातातिर्थ पार्क निर्माणका लागि एक करोड सहयोग गर्ने भएको छ । उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग पनि छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ ।

यस अघि पनि सो नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि एक करोड नै सहयोग गरेको थियो । केही समय अघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि आजै प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड पचास लाख सहयोगको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा ती सबै नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पनि सहभागिता रहेको थियो । चेक हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै काठमाडौँ उपत्यका र समग्र देशको विकास गर्न सकिन्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको बताएका छन । ‘हामीले जुन–जुन नगरपालिकासँग सम्वन्ध कायम गरेका छौँ ती–ती नगरपालिकासँग आत्मियता बढेको छ,’ उनले भने , ‘त्यहाँका स्थानीयमा पनि महानगरपालिका हाम्रो पनि हो हामीले पनि मायाँ गर्नुपर्छ महानगरलाई महानगर बनाउन हामीले सहयोग गर्नुपर्छ भन्ने भावना जागृह हुने अपेक्षा गरेका छौँ ।’

‘यहाँ मानव निर्मित सम्पदा छन् । विश्व सम्पदा सूचिमा सूचिकृत चार ओटा सम्पदा छन्, अन्य नगरपालिकामा हेर्ने हो भने प्रकृति निर्मित सम्पदा छन्,’ उनले भने , ‘हामी यी दुई बीचको सम्वन्ध स्थापना गर्ने र आन्तरिक र वाह्र पर्यटन प्रर्वद्ध गर्ने उदेश्यले पनि यो सम्झौता गरिरहेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले यस अघि काठमाडौँका १० नगरपालिका र भक्तपुरको मध्यपुर ठिमीलाई नगर–नगर साझेदारी अन्तरगर्त सहयोग गरेको थियो । महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएको अवस्थामा मात्रै थप सहयोग गर्ने नीति लिएको छ ।

Must View