नागरिक पोष्ट News


ललितपुर महानगरपालिकाको सहरलाई सुन्दर र सफा बनाउने अभियान

1.4K

ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र सफा बनाउने अभियान अन्तर्गत घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल)मा पम्प्लेट र पोष्टर टाँस्न नदिने भएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार उक्त कार्यको शुभारम्भ गरेका हुन्। त्यसैगरी महानगरले सडकपेटीमा रोपिएको रुखमा ६ फिटसम्म हरियो रङ लगाउन आइतबारबाट सुरूवात गर्ने जानकारी दिए।

खम्बामा रङ लगाउनको कारण अथ्र्याउँदै नगरप्रमुख महर्जनले भने, ‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पुर्‍याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन यो काम गर्न लागेका हौं।’  उनले महानगरको निर्णयलाई नटेर्नेमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिए। जमिनमाथिबाट खम्बाको ६ फिटसम्म हरियो रङ लगाइने महानगर प्रमुख महर्जनले बताए।

उनका अनुसार चार फिटपछि सेतो रङ खम्बाको वरिपरि लगाइनेछ ।  प्रमुख महर्जनले भने, ‘हरियोमा सेतो रङ हुँदा सडकमा सवारी चलाउन समेत सजिलो हुन्छ।’ त्यसैगरी महानगरले सडकपेटीमा रोपिएका रुखमा हरियो रड लगाउने बताए ।

महानगरले तत्काल यो काम बाग्मती पुलबाट जवालाखेल लगनखेलहुँदै सातदोबाटोसम्म, हिमालय होटेल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार, लगनखेलसम्म  र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्ने जनाएको छ।

नगरप्रमुख महर्जनले पहिलो चरणमा यी रूटमा काम सके लगत्त सबैतिर यो काम थाल्ने बताए।

अब महानगरपालिकाले शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले  जानकारी दिए।

हाछेथुका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ। ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन अब हामी विशेष योजनाका साथमा आएका छौं।’

अहिले शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बार, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्पेटको बिगबिगी छ।

यसअघि महानगरले महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाउनुका साथै सडकका पेटीलाई व्यवस्थित बनाइसकेको छ।

त्यस्तै, नग्न तस्वीर राखिएका विज्ञापन र मादक पदार्थका होर्डिङ बोर्डलगायतले ऐतिहासिक संस्कृतिको थलो ललितपुर क्षेत्र कुरूप बनाएको भन्दै नगर प्रहरीले त्यस्ता बोर्डहरू हटाएर सफा बनाइसकेको छ।

शहरलाई सफा र सुन्दर बनाउने लक्ष्य राखेर ललितपुर नगरप्रहरीको नेतृत्व गरेका हाछेथुले भने, ‘सरकारले बनाएको कानुन अनुसार सबै बोर्ड हटाएँ, साइकल गस्ती र साइकल लेन बनाएँ, नगर चेतना अभियान चलाइरहेको छु, अहिले हाम्रो महानगरपालिका सफा छ। यस्तो बेला पर्चा पम्प्लेट टाँसेर कुरुप बनाएको सहर सफँ गर्ने अभियानमा छु।’

Must View