राष्ट्रिय महिला आयोगको नवनियुक्त सदस्य कृष्णकुमारी पौडेल खतिवडाले कार्यभार सम्हालेकी छन्
काठमाडौं –राष्ट्रिय महिला आयोगको नवनियुक्त सदस्य कृष्णकुमारी पौडेल खतिवडाले कार्यभार सम्हालेकी छन् । बुधबार आयोग पुगेर उनले आफ्नो कार्यभार सम्हालेकी हुन । मंगलवार संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुले सपथ लिएका थिए ।
राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधीय चोलेन्द्र शमशेर राणाले संवैधानिक निकायका ३३ प्रमुखलाई सपथ गराएका थिए भने अन्य ५ सदस्यहरुलाई प्रमुखहरुले राष्ट्रपति भवनमै सपथ गराएका थिए ।
लामो समयदेखी पदाधिकारी विहिन रहेको राष्ट्रिय महिला आयोग अध्यक्षमा कमलाकुमारी पराजुलीलाई नियुक्त गरिएको छ भने सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा रहेका छन् । अन्य २ सदस्य पद भने अझै रिक्त रहेका छन् । नवनियुक्त सदस्य खतिवडाले सरकारले दिएको जिम्मेवारी पूर्ण रुपमा पालन गर्दै महिलाहरुको हक हितको पक्षमा आफ्ना कार्य अगाडी बढ्ने प्रतिवद्धता जनाईन । उनले महिला आयोगलाई गति प्रदान गर्न महिला अधिकार र मानव अधिकारको सवालमा काम गर्दै आएका सबै अधिकारकर्मी अनुभवी व्यक्तित्वहरुसंगको समन्वय , परामर्श र सुझाव लिएर अगाडी बढ्ने उल्लेख गरिन् ।
महिलाको हक हितको संरक्षण, सम्वर्धन तथा महिलालाई सशक्तीकरण गरी लैङ्गिक न्याय सुनिश्चित गर्न गठित सरकारको संवैधानिक हैसियतको रुपमा रहेको महिला आयोगले अब गति लिने विश्वास व्यक्त गरिन् ।
नवनियुक्त सदस्य खतिवडाले भनिन् 'महिला सशक्तीकरणका लागि महिलासँग सम्बन्धित नीतिगत, कानूनी व्यवस्था तथा नेपाल सरकारका कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र त्यस्ता नीति तथा कार्यक्रमको लैङ्गिक न्यायको दृष्टिकोणबाट प्रभावकारी भए नभएको विश्लेषण गरी सुधारको लागि नेपाल सरकारलाई सुझाब दिनेछौं ।'
सदस्य खतिवडाले महिलाका मुद्धाहरु आझेलमा पर्न नदिने समेत प्रतिवद्धता जनाइन ।
समाजिक विकासका कार्यमा निरन्तर पहरेदारी गर्दै आएकी खतिवडा सामाजिक र विकासप्रेमी व्यक्तिको रुपमा समेत चिनिदैं आएकी छन् ।