नागरिक पोष्ट News


सरकारले स्वास्थ्य बीमा अन्तर्गत ८ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ

2K

काठमाडौं, २ चैत । सरकारले स्वास्थ्य बीमा अन्तर्गत ८ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । पाँच वर्षअघि सुदूरपश्चिमको कैलालीबाट सुरु भएको यो बीमामा हालसम्म ३५ लाख नागरिक आबद्ध छन् ।

राज्यले लोककल्याणकारी कार्यक्रम अन्तर्गत सेवालाई जोड दिएकाले पनि योगदान रकम संकलनको तुलनामा दाबी बढी भएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए । तर यही तरिकाले कार्यक्रम संचालन गर्दा दीर्घकालमा राज्यलाई धेरै आर्थिक भार पर्न सक्ने भएकाले भार कम गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउने तयारीमा बोर्ड रहेको उनले बताए । त्यसका लागि सबैभन्दा पहिला सबै नागरिकलाई बीमामा आवद्ध गर्न अत्यावश्यक रहेको उनको भनाइ छ ।

उनीहरुबाट ३ अर्ब रुपैयाँ हाराहारीमा योगदान रकम संकलन भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । आगामी दुई वर्षभित्रमा सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने सरकारी लक्ष्य छ ।

हालसम्म यो कार्यक्रम मुलुकका ६५ जिल्लामा संचालित छ । काठमाडौं, ललितपुर लगायतका बढी जनघनत्व भएका जिल्लाहरुमा कार्यक्रम संचालनको अन्तिम चरणमा रहेकाले त्यसपश्चात् सहभागिता बढ्ने अनुमान छ ।

उसो त बीमा गराएकाहरूले पनि नवीरणमा गराउनेमा खासै ध्यान दिएको पाइँदैन । बोर्डका अनुसार वार्षिक नवीकरण गराउनेको संख्या सरदर ८५ प्रतिशतको हाराहारीमा मात्र रहने गरेको ।

यो बीमामा आवद्ध ५ जनासम्म सदस्य भएका घर परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउँनेछन् भने ५ जनाभन्दा बढी सदस्यको हकमा प्रतिसदस्य थप ७ सय रुपैयाँ तिर्नुपर्नेछ । बीमामा आबद्ध भएकाहरूले ११ सय ३३ प्रकारका औषधि निःशुल्क पाउँछन् भने अन्य औषधि किन्नुपर्ने हुन्छ ।vv

Must View