नागरिक पोष्ट News


रुद्रादेवी शर्मा : ९ वर्षमै शाखा अधिकृतबाट सहसचिव र अहिले प्रमुख जिल्ला अधिकारी (सिडियो)

4.5K

बाग्लुङ नगरपालिकाकी रुद्रादेवी शर्माले विवाहपछि पढाइ मात्रै होइन, करिअरमा पनि सफलता हासिल गरेकी छन्।  हाल उनी गुल्मीकी प्रमुख जिल्ला अधिकारी (सिडियो) भएकी छिन्।  बाग्लुङको बाग्लुङ नगरपालिका (साविकको अमलाचौर गाउँ विकास समिति)  जन्मिएकी रुद्रादेवी सानैदेखि पढाइमा अब्बल थिइन्।  त्यही लगावका कारण उनी एसएलसीमा प्रथम श्रेणीमा पास भइन् र, आइएस्सीमा भर्ना भइन्।   १८ वर्षकी हुँदा घरमा विवाहका लागि थुप्रै प्रस्ताव आए। परिवारले विवाह गर्न भनेपछि उनले नकार्न सकिनन्।निजामती सेवाको लक्ष्य र पढाइलाई निरन्तरता दिन केटा पक्षको सहमतिपछि विवाहका लागि उनी राजी भइन। त्यसपछि उनको विवाह भयो।   श्रीमानको प्रेरणापछि उनमा लोक सेवा परीक्षा पास गर्न सक्ने आत्मविश्वास पलायो। र, २०६३ सालमा शाखा अधिकृत पदमा फाराम भरिन्। तर, त्यो बेला उनलाई सफलता हात लागेन। त्यसो त उनले त्यो बेला तयारीका लागि पनि पर्याप्त समय पाएकी थिइनन्। तैपनी उनले हार मानिनन्। र, परीक्षाको तयारी निरन्तर गरिरहिन्। 

२०६६ सालमा दोस्रो पटक शाखा अधिकृतको परीक्षा दिइन् उनले। त्यो बेला भने उनको मेहनत खेर गएन। उनी शाखा अधिकृतमा पास भइन्। ९ वर्षमै शाखा अधिकृतबाट सहसचिव  निजामती सेवामा सिफारिस भएपछि तत्कालीन सामान्य प्रशासन मन्त्रालयबाट तीन महिने तालिम लिइन् उनले। त्यसपछि उनको पोस्टिङ राष्ट्रिय योजना आयोगमा भयो। त्यहाँ उनले ६ वर्ष सेवा गरिन्।  शाखा अधिकृत भएर काम गरिरहँदा पनि उनलाई लोक सेवा परीक्षा दिने भोक मेटिसकेको थिएन। त्यसैले उनले उपसचिव पदमा परीक्षा दिइन्। र, पहिलो पटकमै २०७२ सालमा उपसचिवमा पास भइन्।  त्यसपछि उनको पोस्टिङ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भयो। उनले त्यहाँ ३ वर्ष सेवा गरिन्।  उनले २०७५ सालमा सहसचिवमा नाम निकालिन्। र,  सोही वर्षको जेठबाट बाग्मती प्रदेश, मुख्यमन्त्री कार्यालयको सचिवको जिम्मेवारी पाइन्। 

त्यसको ६ महिनामै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उनको सरुवा भयो। त्यहाँ महिला सशक्तीकरण महाशाखा प्रमुखको रूपमा १३ महिना बिताइन उनले। त्यसपछि श्रम मन्त्रालयमा सरुवा भइन्। 

पहिलो पटक रामेछापकी सिडिओ

सहसचिव भएको केही समयपछि उनलाई जिल्लाको नेतृत्व गर्ने इच्छा पलायो। उनको त्यो रहर पूरा भयो २४ माघ २०७६ मा। उनले पहिलो पटक रामेछापको सिडिओको जिम्मेवारी पाइन्। उनीअघि रामेछापमा उपसचिव ९राजपत्रांकित द्वितीय श्रेणी०ले सिडिओको जिम्मेवारी पाउँथे। तर, सरकारले त्यहाँ राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव०को दरबन्दी कायम गरेपछि उनले त्यहाँको जिम्मेवारी पाइन्। र, जिल्लाको ४१ औँ सिडियो बनिन्। 

Must View