ओलीको पावर, एमालेमा यसरी कित्ताकाट भयो
काठमाडौं । एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य सहभागी थिए।
प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर अध्यक्ष र महासचिव पद मात्र कायम गर्ने निर्णय बैठकमा सुनाएको जनाइएको छ। ‘पार्टी अध्यक्ष र महासचिव मात्र कायम राखेर महाधिवेशनमा जाने निर्णय भएको छ’, केन्द्रीय सदस्य खगराज अधिकारीले भने। बैठकले दसौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको नेता अधिकारीले बताए।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक भने चैत ७ गते बोलाएका छन्। तर, त्यसअगावै ओलीले आफू र महासचिवबाहेक पदाधिकारीको जिम्मेवारी हटाउनेदेखि आफूनिकट नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी तोकेका हुन्। वरिष्ठ नेता नेपालले सम्हाल्दै आएको विदेश विभाग प्रमुखको जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ।
पूर्ववत् एमालेमा योगेश भट्टराईलाई यो जिम्मेवारी थियो। स्कुल विभाग प्रमुखको जिम्मेवारी ओलीले लिएका छन्। संगठन विभाग प्रमुख विष्णु पौडेल, सम्पर्क कमिटी, कोष तथा आर्थिक विभाग प्रमुख छविलाल विश्वकर्मा, संसदीय विभाग प्रमुख सुवास नेम्बाङ, निर्वाचन विभाग प्रमुख विष्णु रिमाललाई बनाइएको छ। यस्तै, प्रदेश इन्चार्जको जिम्मेवारी पनि हेरफेर गरिएको छ। प्रदेश १ मा सुवास नेम्बाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ।
पूर्ववत् एमालेमा प्रदेश १ मा भीम आचार्य, वागमतीमा अष्टलक्ष्मी शाक्य, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल इन्चार्ज थिए। नेपालनिकट चारै जना इन्चार्जको जिम्मेवारी खोसिएको छ।
यस्तै बैठकले पार्टीका प्रदेश अध्यक्ष र सचिव पनि हेरफेर गरेको छ। प्रदेश १ अध्यक्षमा देवराज घिमिरे र सचिव विनोद ढकाल, प्रदेश २ अध्यक्षमा प्रभु साह र सचिव सुमन प्याकुरेल, बागमती अध्यक्षमा आनन्द पोखरेल र सचिव खेम लोहनी तोकिएका छन्। गण्डकी अध्यक्षमा जगत विश्वकर्मा र सचिव भूमि त्रिपाठी, लुम्बिनी अध्यक्षमा लीला गिरी र सचिव खेममान खड्का, कर्णाली अध्यक्षमा गुलाबजंग शाह र सचिव धर्मराज रेग्मी अनि सुदूरपश्चिम अध्यक्षमा कर्ण थापा र सचिव राजेन्द्रसिंह रावल तोकिएका छन्।
बैठकले माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ। रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका एमाले केन्द्रीय सदस्यमा थपिएका छन्।
यस्तै, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, गिरधरी लाल, दावा लामा र चन्द्रबहादुर खड्का पनि केन्द्रीय सदस्य थप गरिएको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए। ओलीले साविकको नेकपा विभाजित हुँदाका बखत आफ्नो पक्षले गरेका निर्णयलाई निरन्तरता दिने निर्णय बैठकमा सुनाएका थिए। ओलीले चैत ७ को बैठकमा वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाललगायतलाई बोलाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन्।
- अन्नपूर्णमा खबर