नागरिक पोष्ट News


अप्टिमिष्ट क्लब अफ काठमाण्डौ र मातृका आँखा केन्द्रको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

2.2K

काठमाडौं । अप्टिमिष्ट क्लब अफ काठमाण्डौ र मातृका आँखा केन्द्रको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।काठमाण्डौको सिनामंगल स्थित गुहेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न उक्त शिविरमा २६० जनाले आँखा जाँच गराएका छन् ।

काठमाण्डौ महानगरपालिका वडा नं ९ र साथी संगी नेपाल सह आयोेजक रहेको उक्त कार्यक्रमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि वडा सदस्य श्रृजना भेटुवालले वडा भित्र गरिने यस किसिमका सामाजिक दायित्वका कार्यक्रमले आफूहरुलाई थप दायित्व वोध गराउने भएकोले यस किसिमका कार्यक्रममा वडाको सधै सहयोग र सहकार्य रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

त्यस्तै, मातृका आँखा केन्द्रका कार्यकारी निर्देशक सोना प्रधानले यस किसिमको निःशुल्क आँखा शिविरबाट रोगको पहिचान गर्ने र आँखाको शल्यक्रिया देखि औषधी र चस्माको फ्रेम समेत निःशुल्क वितरण गरिने बताउनुभयो । थोरै पैसाले सफा र अत्याधुनिक प्रविधिबाट आँखा जाँच गरिने मातृका आँखा केन्द्रले पैसा तिरेर चस्मा लगाउन नसक्ने बालबालिकाहरुका लागि पनि निःशुल्क फ्रेमको व्यवस्था गरेको जानकारी दिनुभयो । त्यस्तै गुहेश्वरी माध्यमिक विद्यालयका अध्यक्ष सुमन लामिछानेले कम्तीमा पनि वर्षमा एक पटक यस किसिमको कार्यक्रम यसरी सरकारी विद्यालयमा गर्नुपर्ने बताउँदै सुकुम्वासी वस्ती भएकोले पनि समुदायमा समेत यस्तो शिविरको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा अतिथि भेटुवालले शिविरका आँखा जाँचका विज्ञहरु, शिविर संयोजक कल्याण ढुंगाना लगायत सहयोगी संस्थाहरुलाई प्रशंसापत्र वितरण गर्नुभयो । उक्त शिविर कार्यक्रममा नेपाल आर्मी चण्डी दल गण, सिंहदरबारले सामान्य स्वास्थ्य जाँच र कोभिडका बारेमा परामर्श दिएका थिए । काठमाण्डौ महानगरपालिका वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, अप्टिमिष्ट नेपालका निवर्तमान अध्यक्ष उदय निरौला, अप्टिमिष्ट नेपालका सचिव पृथ्वी थापाले शिविर अवलोकनका साथै शुभकामना व्यक्त गर्नुभएको थियो । अप्टिमिष्ट नेपालका केन्द्रिय सदस्य एवं अप्टिमिष्ट क्लब अफ काठमाण्डौका अध्यक्ष रीना श्रेष्ठले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

Must View